बाँकेको जमुनाहा नाका ३ दिनका लागि बन्द
काठमाडौं । बाँकेको नेपाल–भारत जमुनाहा नाका ३ दिनका लागि बन्द गरिएको छ ।
भारतको उत्तरप्रदेशस्थित बहराइच जिल्लामा यहि वैशाख ३१ गते हुने लोकसभा निर्वाचनका लागि सीमा नाका शुक्रबार रातिदेखि ३ दिनका लागि बन्द गरिएको जिल्ला प्रशासन कार्यालय बाँकेले जनाएको हो । सहायक प्रमुख जिल्ला अधिकारी जोरासिंह माझीले खुला सीमानाका कारण बढ्न सक्ने सुरक्षा चुनौतीका कारण नाका बन्द गरिएको जानकारी दिनुभएको छ ।
नाका बन्द रहेको समयमा एम्बुलेन्स लगायत अत्यावश्यक सेवालाई दुवै देशका सुरक्षाकर्मीको समन्वयमा कुनै अवरोध नहुने पनि उहाँको भनाइ थियो । निर्वाचनलाई लक्षित गरेर ३ देशका सीमा क्षेत्रमा मदिराको बेचबिखन र सेवनमा समेत रोक लगाइएको छ ।
लोकसभा निर्वाचनलाई दशगजा क्षेत्रमा दुवै देशका सुरक्षाकर्मीले संयुक्त रूपमा गस्ती गर्दै आएका हुन् ।