जसपा नेपाल विभाजन विरूद्धको रिटमा आज सुनुवाई हुँदै
काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवले पार्टी विभाजनविरुद्ध सर्वोच्च अदालतमा दायर गरेको रिटको पेशी मंगलबारका लागि तोकिएको छ ।
यसअघि यहि जेठ २ गते न्यायाधीश विनोद शर्माको इजलासले सोही रिटमा अल्पकालीन अन्तरिम आदेश दिएको थियो । शर्माको इजलासले जसपा विभाजन भएपछि नयाँ दल दर्ता भएको सम्बन्धमा निर्वाचन आयोगको निर्णय यथास्थितिमा राख्न आदेश दिंदै जेठ ८ गते छलफलका लागि बोलाएको हो ।
अध्यक्ष यादवले जसपा नेपाल विभाजन गरी अशोक राईले जनता समाजवादी पार्टी बनाएको र त्यसलाई आयोगले मान्यता दिएकोविरूद्ध गत वैशाख ३१ गते सर्वोच्चमा रिट दायर गनुभएको थियो । त्यस्तै, जनता समाजवादी पार्टीमा समाहित भएका ७ जना सांसदहरुलाई पनि विपक्षी बनाइएको छ ।
गत वैशाख २३ गते जसपा नेपालबाट राई पक्षले पार्टी विभाजन गरेपछि आयोगले वैशाख २४ गते दल दर्ताको प्रमाणपत्र दिएको थियो ।