मदन भण्डारी र जीवराज आश्रितको स्मृति दिवसलाई आज विविध कार्यक्रम गरी मनाइँदै
काठमाडौं । मदन-आश्रित स्मृति दिवसलाई बिहीबार विभिन्न कार्यक्रम गरेर मनाइँदैछ।
२०५० साल जेठ ३ गते चितवनको दासढुंगामा रहस्यमय जीप दुर्घटना हुँदा नेकपा एमालेका तत्कालीन महासचिव मदन भण्डारी र संगठन विभाग प्रमुख जीवराज आश्रितको निधन भएको थियो। दुवै नेताको निधन भएको दिनको सम्झनामा जेठ ३ गते ‘मदन-आश्रित स्मृति दिवस’ मनाइन्छ। मुख्यतः नेकपा एमाले पार्टीको केन्द्रीय कार्यालय र मातहातका कमिटीसहित जसका भातृ संगठनले विभिन्न कार्यक्रम गरी मदन-आश्रितको सम्झनामा विभिन्न कार्यक्रम गर्दै आएका हुन्।
‘बन्दुकको नालबाट मात्रै सत्ता कब्जा हुन्छ’ भन्ने परम्परागत कम्युनिस्ट मान्यतालाई चिर्दै ‘जनताको मतद्वारा नै सत्ता कब्जा हुन्छ’ भन्ने मान्यताका साथ ‘जनताको बहुदलीय जनवाद’ (जबज) सिद्धान्तका प्रतिपादक नेताको रुपमा भण्डारीलाई कम्युनिस्ट आन्दोलनको इतिहासमा सम्झिन्छ। सोही सिद्धान्त प्रतिवादन गरेपछि भण्डारीलाई पूँजीवादी मुलुकका संचार माध्यमले जीवित ‘कार्ल मार्क्स’भनेर संसारभर चिनाउने प्रयास गरेका थिए।
उहाँको सिद्धान्तपछि विश्वभरिका कम्युनिस्ट ‘बुलेट’ बाट होइन, ‘ब्यालेट’ वाट श्रमजीवि वर्गको सत्ता स्थापनाका लागि लाग्नुपर्छ भनेर प्रेरित हुन पुगेको राजनीतिक विश्लेषकले बताउँदै आएका छन्। भण्डारीको दुर्घटना भएको निधन भने ३१ वर्षसम्म पनि रहस्यमय नै रहेको छ।
उहाँकी धर्मपत्नी विद्यादेवी भण्डारी गणतन्त्र नेपालको पहिलो महिला राष्ट्रपति बन्नुहुँदा समेत यस विषय अनुसन्धान गर्नुपर्ने चर्चा भए पनि अनुसन्धान हुन सकेन। भण्डारी २ कार्यकाल राष्ट्रपति बन्दा धेरैले यो विषयको अनुसन्धानका लागि पहल गर्नुपर्ने बताएता पनि त्यो भएन।
जीप दुर्घटनाको जीवित प्रमाण मानिएका चालक अमर लामाको समेत हत्या भइसकेकाले सोही दुर्घटना अझ रहस्यमय बनेको छ।