प्रधानमन्त्री दाहालले आज कांग्रेसका नेतासँग संसदको गतिरोधको बारेमा छलफल गर्दै
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले संसदको गतिरोधको बारेमा नेपाली कांग्रेसका नेताहरुसँग फेरि छलफल गर्नुभएको छ ।
प्रधानमन्त्री दाहालले शनिबार बिहान साढे ८ बजे छलफलका लागि बालुवाटारमा बोलाएको कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले जानकारी दिनुभएको हो। कांग्रेस नेताहरुलाई शुक्रबार साँझ ६ बजे बोलाइएको भएपनि प्रधानमन्त्री दाहालको व्यस्ततका कारण शनिबार बिहानका लागि बैठक सारिएको हो ।
उपप्रधान एवं गृहमन्त्री रवि लामिछाने समेत सहकारी प्रकरणमा दोषी देखिएको भन्दै कांग्रेसले निरन्तर संसदीय छानबिन समिति बनाउनुपर्ने मागसहित संसद अवरोध गर्दै आएको छ। बिहीबार प्रतिनिधि सभामा भएको सत्तापक्ष र विपक्षको धकेलाधेकलले तिक्ततापूर्ण बनेको राजनीतिक माहोललाई सहज बनाउँदै मध्यमार्गी विकल्प मार्फत सहमति खोज्न प्रधानमन्त्री दाहालले संवाद र छलफललाई पुनः अघि बढाउनुभएको हो ।
प्रधानमन्त्री दाहालले समिति गठनमा गृहमन्त्री लामिछानेको नाम किटेर उल्लेख नगर्ने तर उनीसँग जोडिएका सहकारीको नाम राख्न सकिने गरी कांग्रेसलाई सहमतिमा ल्याउने प्रयास गरिरहनुभएको छ । प्रधानमन्त्री दाहालले शुक्रबार संसद भवनस्थित आफ्नो चेम्बरमा कांग्रेस प्रमुख सचेत लेखक र कार्यव्यवस्था परामर्श समिति सदस्य रामहरि खतिवडा लगायत नेताहरुसँग छलफल गर्नुभएको हो ।