जसपा नेपालबाट अलग भएका ७ जना सांसदविरूद्धको रिटमा आज सुनुवाई हुँदै
काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपालले सर्वोच्च अदालतमा दायर गरेको रिटको सुनुवाईका लागि सोमबार पेशी तोकिएको छ ।
जसपा नेपालका अध्यक्ष उपेन्द्र यादवका तर्फबाट दल छोडेका ७ जना सांसदलाई प्रधानमन्त्री पुष्पकमल दाहाललाई विश्वासको मत दिनबाट रोक्न आइतबार दर्ता भएको रिटको सोमबार सुनुवाई हुन लागेको हो । जसपा नेपालबाट अलग भएका अशोक राईको नेतृत्वमा संघीय संसदका ७ जना सांसद रहेका छन् ।
आफ्नो दल छोडेका सांसदले प्रतिनिधिसभा सदस्यको पद गुमाइसकेको दावी गर्दै उहाँले उनीहरुको मतबाट प्रधानमन्त्री दाहालले विश्वासको मत पाए पनि बदर हुने दावी गर्नुभएको हो । यसअघि जसपा नेपालबाट छुटिएर राई नेतृत्वमा जनता समाजवादी पार्टी गठन भएको विषयमा अध्यक्ष यादवले दायर गरेको रिटमा सर्वोच्चले नयाँ दल दर्ताको प्रक्रिया यथास्थानमा राख्न निर्वाचन आयोगलाई अल्पकालीन आदेश दिएको थियो ।
गत वैशाख २३ गते जसपा नेपालबाट विभाजित भएको नयाँ जसपालाई वैशाख २४ गते निर्वाचन आयोगले दर्ताको प्रमाणपत्र दिएको हो । सोही मुद्दामा सर्वोच्चले दुवै पक्षलाई मंगलबार छलफलका लागि बोलएको छ ।