गृहमन्त्री लामिछानेमाथि संसदीय छानबिन समिति बनाउन प्रधानमन्त्री दाहाल सकारात्मक: कांग्रेस
काठमाडौं । नेपाली कांग्रेसले सहकारी प्रकरणमा संसदीय समिति बनाएर छानबिन गर्न प्रधानमन्त्री पुष्पकमल दाहाल सकारात्मक भएको जनाएको छ ।
आइतबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको प्रधानमन्त्री दाहाल र कांग्रेसका नेताहरुबीचको बैठकमा प्रधानमन्त्री सहकारी प्रकरणको अनुसन्धान समिति बनाएर गर्न सकारात्मक हुनुभएको हो । छलफलपछि सञ्चारकर्मीसँग कुरा गर्दै कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले प्रधानमन्त्री दाहालसँग कांग्रेसले सहकारी प्रकरणमा उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेमाथि संसदीय छानबिन समिति बनाएर छानबिन हुनुपर्ने माग राखेको र प्रधानमन्त्री सोही विषयमा सकारात्मक हुनुभएको बताउनुभयो ।
उहाँले भन्नुभयो,-‘हामीले सहकारी सन्दर्भमा जे कुरा उठाउँदै आएका छौं, संसदीय छानबिन समिति गठन गर्ने कुराका बारेमा हामीले आफ्ना कुरा राखेका छौं। प्रधानमन्त्रीज्युसँग यो बारेमा कुराकानी भयो । प्रधानमन्त्रीज्युले सकारात्मक ढंगले लिनुभएको छ । सकारात्मक कुरा नै छ । हामीले हाम्रो कुरालाई यथावत राखेका छौं। प्रधानमन्त्रीज्युले सकारात्मक कुरा गर्नुभएको छ । सोमबार हाम्रो संसदीय कार्यसमितिको बैठक १ बजे र संसदीय दलको बैठक २ बजे छ, त्यहाँबाट निर्णय गर्नेछौं ।’
प्रमुख सचेतक लेखकले कांग्रेसले सोमबार बस्ने संसदीय दलको बैठकबाट थप निर्णय गर्ने पनि बताउनुभयो ।