जसपा नेपालको केन्द्रीय समिति बैठक आज बस्दै, सरकारबाट बाहिरिने तयारी
काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपालको केन्द्रीय समिति बैठक सोमबार बिहान बस्ने भएको छ ।
सोही बैठक सोमबार बिहान ११ बजे ज्यापु प्रज्ञा भवन च्यासलमा बस्ने प्रवक्ता मनिष सुमनले जानकारी दिनुभएको हो ।बैठकले पार्टीको फुट, समसामयिक राजनीति र महाधिवेशन तयारी लगायतका विषयमा छलफल गरी आवश्यक निर्णय लिने जनाइएको छ ।
अशोक राईको नेतृत्वमा ७ जना संघीय सांसद अलगिएपछि जसपा नेपालको राजनीतिक परिवेश फेरिएको हो। जसको असर प्रदेश हुँदै केन्द्रमा समेत आइपुगेको छ । मधेश प्रदेशमा जसपा नेपालका सरोज यादव नेतृत्वको सरकारबाट आइतबार नेकपा माओवादी केन्द्र र नेकपा एमाले बाहिरिए पछि पार्टी अध्यक्ष तथा उपप्रधान एवं स्वास्थ्यमन्त्री उपेन्द्र यादवलाई केन्द्रीय सरकार छाड्नु पर्ने नैतिक बाध्यता आइपरेको हो।
यस्तो परिस्थितिमा संघीय सरकारमा रहने वा नरहने भन्ने विषयमा सोमबारको बैठकले औपचारि निर्णय गर्ने प्रवक्ता सुमनले बताउनुभयो। यद्यपि आइतबार बसेको जसपा नेपालको केन्द्रीय कार्यकारिणी समितिको बैठकले सरकारबाट बाहिरिने र समर्थन फिर्ता लिने निर्णय गरिसकेको छ ।
उपप्रधानमन्त्री यादवलाई प्रधानमन्त्री पुष्पकमल दाहालले नै राजीनामा दिनु भनिसकेको बुझिएको हो । एमालेका अध्यक्ष केपी शर्मा ओली र प्रधानमन्त्री दाहालले पार्टी जसपा नेपाल फुटाइदिएको उपप्रधानमन्त्री यादवको दावी छ ।
सार्वजनिक कार्यक्रमहरुमै एमाले र माओवादी केन्द्रले पार्टी विभाजनमा भूमिका खेलेको उहाँले आरोप लगाउँदै आउनुभएको हो ।