कांग्रेसले आफूमाथि लगाएको आरोपको जवाफ संसदबाटै दिन पाउनुपर्छ: गृहमन्त्री लामिछाने
काठमाडौं । उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले आफूलाई नेपाली कांग्रेसले लगाएको सहकारी ठगीको आरोपको बारेमा संसदमा बोल्न पाउनुपर्ने अडान दोहोर्याउनुभएको छ ।
बुधबार सिंहदरबारमा प्रधानमन्त्री पुष्पकमल दाहाल र प्रमुख सत्तारूढ नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँगको छलफलपछि आफूले संसदमा बोल्न पाउनुपर्ने बारेमा नै छलफल भएको उहाँले बताउनुभएको हो । लोकतन्त्रमा बोल्न पाउने अधिकार सबैलाई हुने बताउँदै उहाँले आफूमाथिको आरोपको जवाफ सदनबाट नै प्रष्ट पार्न पाउनुपर्ने कुरा दोहोर्याउनुभयो।
यदि आफूले दिएको जवाफ चित्त नबुझे कांग्रेसले विरोध गर्न पाउने अधिकारको सम्मान गर्ने गृहमन्त्री लामिछानेले बताउनुभएको छ । सदन र सडकमा आफ्नो विषयमा आरोप र गालीगलौज आइसकेको अवस्थामा बोल्न पाउनुपर्ने बाहेक अरु कुनै माग नरहेको पनि उहाँको भनाइ थियो ।
कांग्रेसले वर्षे अधिवेशनमा पनि सदन अवरुद्ध गरिरहेको छ । प्रधानमन्त्री दाहालले बुधबार पनि एमाले अध्यक्ष ओली र गृहमनत्री लामिछानेलाई सिंहदरबारमा बोलाउनुभएको हो । एमालेले बुधबार बसेको संसदीय दलको बैठकबाट कांग्रेसले एकतर्फी कुरा राखिरहे नस्वीकार्ने र प्रतिरोध गर्ने जनाएको छ ।