सहकारी ठगी प्रकरण: टीओआर टुंगो लगाउन कार्यदलको बैठक सिंहदरबारमा जारी
काठमाडौं । सहकारी ठगी प्रकरणमा संसदीय छानबिन समितिको कार्यादेश (टीओआर) टुंगो लगाउन कार्यदलको बैठक अहिले जारी रहेको छ ।
सिंहदरबारस्थित कानून, न्याय तथा संसदीय मामिला मन्त्रालयमा जारी बैठकमा सहकारी ठगी प्रकरणमा संसदीय छानबिन समिति गठनको क्षेत्राधिकारको बारेमा छलफल भइरहेको हो । गत शनिबार गठित कार्यदलले आइतबार बिहानदेखि साँझसम्म छलफल गरेता पनि निष्कर्षमा पुग्न नसकेपछि मंगलबार फेरि बैठक बसेको छ ।
नेपाली कांग्रेसले समिति बनाउदा उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेको नामै उल्लेख गर्नुपर्ने अडान राख्दै आएको हो । सत्ता गठबन्धनका दलले भने सोही कुरामा असहमत रहेका छन् ।
कार्यदलमा कानूनमन्त्री पदम गिरीको संयोजकत्वमा कांग्रेसका जीवन परियार, नेकपा एमालेका महेश बर्तौला र राष्ट्रिय स्वतन्त्र पार्टीका शिशिर खनाल सदस्य रहेका हुन् । सोही बैठकमा कांग्रेस नेता ज्ञानेन्द्रबहादुर कार्की पनि सहभागी हुनु भएको छ ।
सहकारी प्रकरणमा छानबिन समितिको माग गर्दै कांग्रेसले लगातार संसद बैठक अवरुद्ध गर्दै आएको हो ।