अतृप्त आत्मा र स्वार्थीको झुण्डलाई प्रयोग गरेर पार्टी फुटाइयो: अध्यक्ष यादव
काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष एवं उपप्रधान एवं स्वास्थ्य तथा जनसंख्यामन्त्री उपेन्द्र यादवले अतृप्त आत्मा र स्वार्थीहरुको झुण्डलाई प्रयोग गरेर पार्टी फुटाइएको बताउनुभएको छ ।
मधेशी स्वास्थ्यकर्मी फोरमको चौथो राष्ट्रिय महाधिवेशनको उद्घाटन सत्रलाई सम्बोधन गर्दै उहाँले अतृप्त आत्माहरुको हतास मानसकिता भएकाहरुलाई प्रयोग गरेर पार्टी फुटाइएको बताउनुभएको हो । मन्त्री यादवले २-४ जना लोभी पापीलाई पार्टीबाट फुटाउँदैमा युद्ध जिते जस्तो सोच्नु दिवा स्वप्ना मात्रै रहेको बताउनुभएको छ ।
उहाँले निर्दलीय व्यवस्थाबिरुद्ध लडेका नेपाली कांग्रेस र कम्युनिष्ट विरुद्ध पनि यस्तै षड्यन्त्र हुने गरेको बताउनुभयो । पार्टीबाट केही लोभीहरु अलग्गिंदैमा जसपा नेपाल कमजोर नहुने उहाँको दावी छ । अब जसपा नेपाल थप गतिका साथ अगाडि बढ्ने उहाँले स्पष्ट पार्नुभएको हो ।
मन्त्री यादवले मधेशको मुद्दा र संघियता संस्थागत गर्नका लागि पार्टी थप उर्जाका साथ सडक, संसद र सरकारमा संघर्ष जारी राख्ने बताउनुभएको छ । अर्को प्रसंगमा उपप्रधानमन्त्री यादवले पार्टीको महाधिवेशन तोकिएकै समयमा हुने र सोही तयारीमा जुट्न नेता कार्यकर्ताहरुलाई उहाँले निर्देशन समेत दिनुभयो ।