संसदलाई समस्या समाधानको थलो बनाउन सभामुख घिमिरेको आग्रह
काठमाडौं । सभामुख देवराज घिमिरेले संसद बैठकलाई अवरोध बिना अगाडि बढाउन महत्वपूर्ण आधार तयार भएको बताउनुभएको छ ।
सिंहदरबारमा मंगलबार प्रमुख राजनीतिक दलका शीर्ष नेताहरुसँगको छलफलपछि सभामुख घिमिरेले यस्तो बताउनुभएको हो । उहाँले मंगलबारको छलफलले यहि वैशाख २८ गतेदेखि शुरु हुने अबको अधिवेशन अवरोध बिना अगाडि बढाउन महत्वपूर्ण आधार तयार भएको दावी गर्नुभएको छ । समस्याहरुले सदनलाई अवरोध गर्दैन भन्ने आफूले बलियो विश्वास गरेको पनि उहाँले बताउनुभयो ।
सभामुख घिमिरेले समस्याको समाधान कतिपय राजनीतिक दलहरुकोबीचबाट हुने र कतिपय संसदबाट हुने बताउनुभएको छ । संसदलाई अवरोधको भन्दा समस्या समाधानको थलो बनाउनुपर्ने उहाँको भनाइ थियो । उहाँले सबै राजनीतिक दलहरु यसमा सचेत भएर अघि बढ्न जरुरी रहेको पनि बताउनुभएको छ।
सभामुख घिमिरेले संसद राम्रोसँग सञ्चालन गर्न दलहरुको भूमिका निर्णायक हुने र आगामी दिनमा दलहरु गम्भीर हुनुपर्ने बताउनुभयो ।