सुनकोशी मरिण डाइभर्सन आयोजनाको बाँकी काम निर्धारित समयमा नै सम्पन्न गर्न प्रधानमन्त्री दाहालको निर्देशन
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले सुनकोशी मरिण डाइभर्सन बहुउद्देश्यीय आयोजनाको बाँकी काम निर्धारित समयमा सम्पन्न गर्न निर्देशन दिनुभएको छ ।
बुधबार बिहान आयोजनास्थलमा अनुगमनका क्रममा सुनकोशी गाउँपालिकामा ब्रिफिङ लिएपछि उहाँले आयोजनामा हुन सक्ने समस्याको पहिचान गरेर त्यसलाई समयमै सल्टाउन निर्देशन दिनुभएको हो । बहुउद्देश्यीय आयोजना ठूलो कार्यक्षेत्र भएकाले विभिन्न समस्या आउने र समयमा नै समस्याको पहिचान गरी समाधान गर्दै जाने सोच, कार्ययोजना र पूर्वतयारीको व्यवस्था गर्नका लागि उहाँले निर्देशन दिनुभएको छ ।
प्रधानमन्त्री दाहालले आयोजना समयमै सम्पन्न गरी लगानीको प्रतिफल पनि समयमै प्राप्त गर्नेगरी काम गर्न समेत निर्देशन दिनुभयो।आयोजनामा राम्रो काम गर्ने कर्मचारीको अभिलेख व्यवस्थित गरी दण्ड र पुरस्कारको ठोस कार्ययोजना निर्माण गर्नसमेत आयोजना प्रमुखलाई निर्देशन दिनुभएको छ ।
सुरुङमार्ग बाहेक अन्य निर्माण कार्य ब्यारेज, पावर हाउस, इलेक्ट्रोमेकानिकल, ट्रान्समिसन लाइन, नदी नियन्त्रण र सामाजिक विकासको कार्यहरू पनि उच्च प्राथमिकताका साथ समयमै सम्पन्न गर्नुपर्नेमा उहाँले जोड दिनुभयो । कार्ययोजना एवं खरिद गुरू योजनाले निर्दिष्ट गरे अनुरूपका सम्पूर्ण कार्यहरू निर्धारित समयभित्रै पूरा गर्नुपर्ने उहाँको भनाइ छ।
मरिण डाइभर्सन राष्ट्रिय गौरवको रूपान्तरणकारी आयोजना भएकाले बजेटको अभाव हुन नदिने उहाँले विश्वास समेत दिलाउनुभएको छ । प्रधानमन्त्री दाहालले आयोजनाको निर्माण कार्यका लागि सरकारको तर्फबाट सम्पूर्ण रूपले सहजीकरण गर्ने प्रष्ट पार्नुभयो ।