प्रधानमन्त्री दाहाल र कांग्रेस नेताबीच बालुवाटारमा छलफल जारी
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले नेपाली कांग्रेसका नेताहरुसँग अहिले छलफल गरिरहनुभएको छ ।
संसदमा जारी गतिरोध अन्त्यका लागि प्रधानमन्त्री दाहालले कांग्रेस महामन्त्री गगन कुमार थापा र प्रमुख सचेतक रमेश लेखकलाई बालुवाटारमा बोलाएर छलफल शुरु गर्नुभएको हो । सहकारी ठगी प्रकरणमा गृहमन्त्री रवि लामछिानेमाथि छानबिन गर्न संसदीय समिति गठन गर्नुपर्ने माग गर्दै केही समयदेखि प्रमुख प्रतिपक्षी दल कांग्रेसले संसद बैठक अवरुद्ध गर्दै आएको छ ।
सरकारले मंगलबार संसदमा आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गर्ने कार्यक्रम रहेको हो । तर कांग्रेसले छानबिन समिति नबनेसम्म संसद बैठक चल्न नदिने अडान यथावत राखेपछि त्यसको समाधानका लागि प्रधानमन्त्री दाहालले कांग्रेस नेताहरुसँग छलफल गर्न शुरु गर्नुभएको छ ।
प्रधानमन्त्री दाहालले आइतबार पनि कांग्रेस नेताहरुसँग छलफल गर्नुभएको हो । सोही बैठक सकारात्मक रहेको कांग्रेसले जनाएको थियो । तर समस्याको समाधान कसरी गर्ने भन्ने विषयमा कुनै टुंगो लागेको छैन ।