भारतमा तेस्रो चरणको लोकसभा चुनावमा ६५.६८ प्रतिशत मतदान
एजेन्सी । भारतमा तेस्रो चरणको लोकसभा चुनावमा ६५ दशमलव ६८ प्रतिशत मतदान भएको छ।
भारतीय निर्वाचन आयोगका अनुसार गत ७ मे तारिखमा ११ राज्यको ९३ लोकसभा सिटका लागि ६५ दशमलव ६८ प्रतिशत मतदान भएको हो। जसमा ६६ दशमलव ९८ प्रतिशत पुरुष, ६४ दशमलव ४१ प्रतिशत महिला र २५ दशमलव २ प्रतिशत तेस्रो लिंगीले मतदान गरेका आयोगले जानकारी दिएको छ।
आयोगले ४ दिनपछि तेस्रो चरणको मतदानको तथ्यांक जारी गरेको हो। पहिलो चरणको तथ्यांक ११ दिनमा जारी गरेको आयोगले दोस्रो चरणको सहभागीतालाई ४ दिनपछि सार्वजनिक गरेको थियो।
तथ्यांक ढिला सार्वजनिक हुँदा कांग्रेससहित विपक्षी दलले प्रश्न समेत उठाएका छन्। पहिलो चरणमा १ सय २ संसदीय सिटमा ६६ दशमलव १४ प्रतिशत र दोस्रो चरणमा ८८ सिटमा ६६ दशमलव ७१ प्रतिशत मतदात भएको थियो।