कोशी प्रदेशमा नयाँ सरकार गठन गर्न प्रदेश प्रमुख खापुङको आह्वान
काठमाडौं । कोशी प्रदेशका प्रदेश प्रमुख परशुराम खापुङले नयाँ सरकार गठनको आव्हान गर्नुभएको छ ।
बुधबार राति खापुङले संविधानको धारा १६८ को उपधारा (५) अनुसार २८ गते शुक्रबार साँझ ५ बजेभित्र आफ्नो दावी पेश गर्न उहाँले आह्वान गर्नुभएको हो । यसअघि नेकपा एमाले र नेकपा माओवादी केन्द्रले मुख्यमन्त्री केदार कार्कीले विश्वासको मत नलिएकाले पदमुक्त भइसकेको दावी गर्दै नयाँ सरकार गठनका लागि आह्वान गर्नका लागि बुधबार नै निवेदन दिएका थिए ।
मुख्यमन्त्री कार्कीको नेतृत्वमा २०८० असोज २७ गते गठन भएको सरकारलाई तत्कालीन अवस्थामा प्रदेश सभाका बहुमत सदस्यहरूको विश्वासको मत प्राप्त भएका थियो । तर २०८० चैत २६ गते ५२ जना सदस्यले मुख्यमन्त्रीलाई दिएको समर्थन फिर्ता लिएको सम्बन्धी निवेदन पत्र प्राप्त भएको, कोशी प्रदेश सभा सचिवालयको २०८१ वैशाख १० गतेको पत्रमार्फत कोशी प्रदेश सभामा पेश भएको संकल्प प्रस्ताव बहुमतले पारित भएको थियो ।
उक्त सचिवालयको वैशाख २६ गतेको पत्रमार्फत संवैधानिक व्यवस्था बमोजिम समर्थन फिर्ता लिएको ३० दिनभित्र प्रदेश सभाबाट मुख्यमन्त्रीले विश्वासको मत प्राप्त गर्ने सम्बन्धी कुनै प्रस्ताव दर्ता हुन नआएको जानकारी प्राप्त भएको बताउँदै प्रदेश प्रमुख खापुङले नयाँ सरकार गठनका लागि आह्वान गरिएको जारी विज्ञप्तिमा उल्लेख गरिएको छ ।