गृहमन्त्री लामिछाने दिए सहकारीबाट ऋण लिएको प्रमाणित गर्न कांग्रेसलाई चुनौती
काठमाडौं । उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले आफूले निवेदन दिएर सूर्यदर्शन सहकारीबाट ऋण लिएको कुरा प्रमाणित गर्न नेपाली कांग्रेसका महामन्त्री गगन थापालाई चुनौती दिनुभएको छ ।
शुक्रबार प्रतिनिधि सभाको बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै उहाँले यस्तो चुनौती दिनुभएको हो । महामन्त्री थापाले भने जस्तै प्रमाण पेश गर्न सकेमा आफूले राजनीति छोड्ने समेत उहाँले बताउनुभयो ।
गृहमन्त्री लामिछानेले प्रमाण दिन नसकेमा महामन्त्री थापालाई राजनीति छोड्न चुनौती दिनुभएको छ । उहाँले संसदीय छानविन समिति बनाउने कुरा सामान्य भएको भन्दै बनाउन सकिने धारणा पनि राख्नुभयो ।
आफू प्रमाणसहित कोही आएमा राजनीति छोड्न तयार रहेको भन्दै समिति नबनाउन नभनेको उहाँको तर्क छ । चुनौती स्वीकार गरेर २ जनाको राजनीति दाउमा लगाउन तयार हुन महामन्त्री थापालाई उहाँले आग्रह गर्नुभयो ।
गृहमन्त्री लामिछानेले आफ्नो कुरा संसदबाट सुन्न कांग्रेस डराएको बताउनुभएको हो । आफूले संसदमा बोल्न पाएमा सबै कुरा स्पष्ट ढंगले राख्ने उहाँको भनाइ छ ।