इलाम-२ को उपनिर्वाचनमा रास्वपाका लिम्बुसहित १६ जना उम्मेदवारको जमानत जफत (सूचीसहित)
काठमाडौं । इलाम-२ मा प्रतिनिधिसभा सदस्यका लागि गत शनिबार सम्पन्न भएको उपनिर्वाचनमा नेकपा एमालेका उम्मेदवार सुहाङ नेम्वाङ २७ हजार ७ सय ७२ मत प्राप्त गरेर विजयी हुनुभएको छ ।
उहाँका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका उम्मेदवार डम्बर खड्काले २१ हजार ९ सय ४२ मत प्राप्त गरेर पराजित हुनुभएको हो। त्यस्तै, तेस्रो स्थान हाशिल गरेका स्वतन्त्र उम्मेदवार डकेन्द्र सिंह लिम्बुले ११ हजार ४ सय ५७ मत प्राप्त गर्नुभएको छ । इलाम–२ मा कूल १९ जना उम्मेदवार चुनावी मैदानमा रहेका थिए । जसमध्ये १६ जनाको भने जमानत जफत भएको हो ।
निर्वाचन आयोगले मंगलबार सार्वजनिक गरेको अन्तिम मत परिणामअनुसार राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)सहित १६ वटा दलको जमानत जफत भएको छ । रास्वपाका उम्मेदवार मिलन लिम्बुले ५ हजार ५० मत प्राप्त गर्नुभएको हो । त्यस्तै, भाले चिह्न भएका मनिबहादुर लिम्बुले ८ सय १६ मत प्राप्त गर्दा अन्य उम्मेदवार ५ सय मत पनि कटाउन सकेनन् । जमानत जोगाउन सदर मतको १० प्रतिशत मत ल्याउनु आवश्यक पर्दछ । इलाम–२ मा भएको उपनिर्वाचनमा सदर मत ६८ हजार ४ सय ७२ रहेको छ । यहाँ ६९ हजार ३ सय ७४ मत खसेको थियो ।
जसअनुसार जमानत जोगाउन उम्मेदरवालाई ६ हजार ८ सय ५० मत आवश्यक पर्दथ्यो । तर एमाले, कांग्रेस र एक स्वतन्त्र उम्मेदवार बाहेक अन्य उम्मेदवारले सोही मत कटाउन सकेनन् । प्रतिनिधिसभा सदस्य निर्वाचन ऐन, २०७४ को दफा ७१ मा ‘निर्वाचन प्रणाली अन्तर्गतको कुनै निर्वाचनमा मतदान गरिएको जम्मा सदर मतको १० प्रतिशत भन्दा कम सदर मत पाउने उम्मेदवारको धरौटी जफत हुने उल्लेख गरिएको छ ।
जमानत जफत हुनेमा राष्ट्रिय प्रजातन्त्र पार्टीका लक्ष्मी गुरुङ, नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का जितबहादुर राई, जनमत पार्टीका प्रेमकुमार थाम्सुहाङ, नेपाल मजदुर किसान पार्टीका श्यामबहादुर दर्जी, मंगोल नेशनल अर्गनाइजेशनका मनिबहादुर लिम्बु र नेशनल रिपब्लिक नेपालका धनराज रानामगर रहेका छन् ।
त्यस्तै, राष्ट्रिय मुक्ति आन्दोलन नेपालका जयन्त्रविक्रम शाह, राप्रपा नेपालका गणेशबहादुर चौहान, नेपाली जनता दलका रेशमबहादुर सुनार नेपाली, स्वतन्त्र उम्मेदवार डाकप्रसाद गौतम, मनोज निरौला, अर्जुनकुमार शाही, दीपेश बोहोरा, योगेन्द्र गुरुङ र राज बस्यालको जमानत जफत भएको हो ।