इलाम-२ मा उपनिर्वाचनको मतगणना आज बिहान ११ बजेदेखि शुरू हुँदै
काठमाडौं । इलाम–२ मा प्रतिनिधिसभा सदस्य चयनका लागि शनिबार सम्पन्न भएको उपनिर्वाचनको मतगणना आइतबार बिहान ११ बजेबाट शुरु हुने भएको छ ।
आइतबार बिहान बसेको सर्वदलीय बैठकले बिहान ११ बजेदेखि मतगणना शुरु गर्ने निर्णय गरेको मुख्य निर्वाचन अधिकारी केशव घिमिरेले जानकारी दिनुभएको हो । इलाम नगरपालिका–२ स्थित गौतम बुद्ध सम्मेलन केन्द्रमा मतगणना हुने भएको छ ।
बैठकमा फाकफोकथुमबाट शुरु गरी क्रमशः चुलाचुली, मांसेबुङ, माई, देउमाई र इलामको गणना गर्ने सहमति भएको हो । सर्वदलीय सहमतिअनुसार एउटा वडाको मत गनिसकेपछि परिणाम सार्वजनिक गरिने भएको छ ।
इलामको उपनिर्वाचनमा १ लाख १५ हजार ८ सय ८९ मतदाता मध्ये ६९ हजार २ सय ८७ मत खसेको हो । यो समग्रमा ६० प्रतिशत हो ।उपनिर्वाचनमा १२ राजनीतिक दल र ७ स्वतन्त्र उम्मेदवार गरी १९ जना चुनावी मैदानमा रहेका छन् ।
प्रतिनिधिसभा सदस्य सुवासचन्द्र नेम्बाङको गत भदौ २६ गते निधन भएपछि रिक्त क्षेत्रमा शनिबार उपनिर्वाचन भएको हो।