इलाम-२ बाट प्रतिनिधि सभा सदस्यमा एमालेका उम्मेदवार सुहाङ नेम्वाङ विजयी, कांग्रेसका खड्का दोस्रो पटक पनि पराजित
काठमाडौं । इलाम-२ मा प्रतिनिधि सभा सदस्यका लागि गत शनिबार सम्पन्न भएको उपनिर्वाचनमा नेकपा एमालेका उम्मेदवार सुहाङ नेम्वाङ विजयी हुनुभएको छ ।
उहाँले २७ हजार ७ सय ७२ मत प्राप्त गर्दै निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका उम्मेदवार डम्बर खड्कालाई मंगलबार बिहान फराकिलो मतान्तरले पराजित गर्नुभएको हो । उहाँ निकटतम प्रतिस्पर्धी कांग्रेसका उम्मेदवार खड्कालाई ५ हजार ८ सय ३० मतान्तरले पछि पार्दै प्रतिनिधि सभा सदस्यमा विजयी हुनुभएको छ । गत निर्वाचनमा इलाम-२ बाट सुहाङका बुबा सुवासचन्द्र नेम्वाङ विजयी हुनुभएको थियो ।
कांग्रेसका उम्मेदवार खड्काले २१ हजार ९ सय ४२ मत प्राप्त गर्दै दोस्रो पटक पनि पराजित हुनुभएको हो । उहाँ गत वर्ष २०७९ सालको प्रतिनिधि सभा सदस्यको निर्वाचनमा पनि सुहाङका बुबा सुवासचन्द्रसँग १ सय १४ मतले पराजित हुनुभएको थियो । तर उहाँको गत भदौ २६ गते निधन भएपछि रिक्त भएको स्थानमा यहि वैशाख १५ गते उपनिर्वाचन भएको हो । एमालेले दिवंगत सुवासका छोरा सुहाङलाई चुनावी प्रतिस्पर्धामा उतारेको थियो ।
उपनिर्वाचनमा पहिचान पक्षधरका स्वतन्त्र उम्मेदवार डकेन्द्रसिंह थेगिमले ११ हजार ४ सय ५७ र नेकपा माओवादी केन्द्र त्यागेर राष्ट्रिय स्वतन्त्र पार्टीबाट उम्मेदवार बन्नु भएका मिलन लिम्बुले ५ हजार ५० मत प्राप्त गर्नुभएको छ ।