इलाम-२ को उपनिर्वाचनमा रास्वपाका उम्मेदवार मिलन लिम्बुको जमानत जफत
काठमाडौं । इलाम-२ को गत शनिबार सम्पन्न भएको उपनिर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को जमानत जफत भएको छ ।
नेकपा माओवादी केन्द्र त्यागेर रास्वपाबाट उम्मेदवार बनेका मिलन लिम्बुले ५ हजार ५० मत मात्रै प्राप्त गर्नुभएको हो । प्रतिनिधि सभा सदस्य निर्वाचन ऐन २०७४ को व्यवस्था अनुसार कुल सदर मतको १० प्रतिशत पनि प्राप्त गर्न नसकेपछि लिम्बुको जमानत जफत भएको छ ।
उपनिर्वाचनमा गणना भएको ६९ हजार ३ सय ७४ मतमध्ये ६८ हजार ४ सय ७२ मत सदर भएको थियो । ९ सय २ मत बदर भएको हो। लिम्बुले प्राप्त गरेको मत कुल सदर मतको १० प्रतिशत नपुग्ने भएकाले जमानत ९धरौटी० जफत भएको छ ।
प्रतिनिधि सभा सदस्य चयनका लागि इलाम-२ मा भएको उपनिर्वाचनमा मंगलबार बिहान नेकपा एमालेका उम्मेदवार सुहाङ नेम्वाङ विजयी हुनुभएको हो । निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका उम्मेदवार डम्बर खड्कालाई ५ हजार ८ सय ३० मत अन्तरले पछि पार्दै सुहाङ विजयी हुनुभएको छ ।
सुहाङ २७ हजार ७ सय ७२ मतसहित विजयी हुँदा उहाँका निकटतम प्रतिस्पर्धी कांग्रेसका उम्मेदवार खड्काले २१ हजार ९ सय ४२ मत प्राप्त गर्दै पराजित हुनुभएको हो । निर्वाचनमा पहिचान पक्षधरका स्वतन्त्र उम्मेदवार डकेन्द्रसिंह थेगिमले ११ हजार ४ सय ५७ मत प्राप्त गर्नुभएको छ ।
निर्वाचन ऐनमा प्रत्यक्षतर्फको चुनावमा उम्मेदवारहरुले १० हजार रुपैयाँ सम्बन्धित निर्वाचन अधिकृतको कार्यालयमा र समानुपातिकतर्फको चुनावमा ५० हजार रुपैयाँ निर्वाचन आयोगमा बुझाउनुपर्छ । तर प्रत्यक्षतर्फको चुनावमा महिला र दलित वा अल्पसंख्यक समुदाय वा आर्थिक रुपले विपन्न उम्मेदवारको हकमा भने धरौटी रकममा ५० प्रतिशत छुट पाइन्छ ।