गृह मन्त्रालयले नियम अनुसार बाहेकका व्यक्तिगत सुरक्षामा खटाइएका सुरक्षाकर्मीहरूलाई २४ घण्टाभित्र फिर्ता बोलाउन नेपाल प्रहरी र सशस्त्र प्रहरी बल नेपाललाई निर्देशन दिएको छ ।
काठमाडौं । गृह मन्त्रालयले नियम अनुसार बाहेकका व्यक्तिगत सुरक्षामा खटाइएका सुरक्षाकर्मीहरूलाई २४ घण्टाभित्र फिर्ता बोलाउन नेपाल प्रहरी र सशस्त्र प्रहरी बल नेपाललाई निर्देशन दिएको छ ।
प्रचलित कानून बमोजिम विशिष्ट व्यक्तिहरूलाई उपलब्ध गराइएका सुरक्षाकर्मी बाहेकलाई तत्काल फिर्ता बोलाई त्यसको विवरण उपलब्ध गराउन दुवै निकायलाई निर्देशन दिएको शुक्रबार मन्त्रालयले जनाएको हो । सुरक्षा व्यवस्थापन कार्यविधि, २०७७ र अन्य प्रचलित कानून बमोजिम विशिष्ट व्यक्तिहरूलाई उपलब्ध गराइएका सुरक्षाकर्मी बाहेक अन्य सबै व्यक्तिगत सुरक्षाकर्मीहरूलाई २४ घण्टाभित्र पदाधिकार रहेको कार्यालयमा फिर्ता बोलाइ सोसम्बन्धी विवरण उपलब्ध गराउन मन्त्रालयको निर्देशनमा भनिएको छ ।
त्यसरी खटिएका सुरक्षाकर्मी फिर्ता नभएमा खटिने सुरक्षाकर्मीको तलब रोक्का गर्न र फिर्ता नगर्ने पदाधिकारीको नाम सार्वजनिक गर्ने प्रयोजनका लागि मन्त्रालयमा विवरण उपलब्ध गराउन समेत निर्देशन दिइएको हो ।
त्यस्तै, विशिष्ट व्यक्तिहरूको जिल्ला भ्रमण लगायतका कार्यक्रममा सुरक्षा उपलब्ध गराउँदा कार्यविधिको व्यवस्था पूर्ण पालना गर्न गराउन र सुरक्षा चुनौती विश्लेषण गरी मन्त्रालयबाट थप निर्देशन भएको अवस्थामा बाहेक कार्यविधिविपरीत अगुवा पछुवा उपलब्ध नगराउन पनि दुवै प्रहरी संगठनलाई निर्देशन दिएको मन्त्रालयले जनाएको छ ।