नेपाललाई चीनको स्वशासित क्षेत्र तिब्बतबाट आगामी २ वर्षका लागि प्राप्त हुने सहायता परियोजनाको पहिलो बैठक तिब्बतको राजधानी ल्हासामा सम्पन्न भएको छ ।
काठमाडौ । नेपाललाई चीनको स्वशासित क्षेत्र तिब्बतबाट आगामी २ वर्षका लागि प्राप्त हुने सहायता परियोजनाको पहिलो बैठक तिब्बतको राजधानी ल्हासामा सम्पन्न भएको छ ।
बुधबार राति सम्पन्न बैठकमा नेपालमा सञ्चालन हुने सहायता परियोजनामा केन्द्रित रहेर छलफल भएको ल्हासास्थित नेपालको महावाणिज्य दूतावासले बिहीबार जानकारी दिएको हो । सोही बैठकमा परियोजना सम्बन्धी समन्वय संयन्त्र गठन गर्ने, परियोजनाहरुको प्रारुप छनोट, कार्यान्वयन र अनुगमनको बारेमा विचार विमर्श भएको छ ।
दुवै पक्षले यस वर्षको मध्यतिर २ पटक बैठक गर्ने र अन्त्यमा परियोजना कार्यान्वयनको समीक्षा गर्न सहमति जनाएका हुन् । बैठकमा दुवै पक्षले तिब्बतसँग सिमाना जोडिएका नेपाली भूभागका जनताको जीवनस्तर सुधारमा सहयोग बढाउन पनि सहमति भएको दूतावासले जनाएको छ ।
बैठकमा नेपाली पक्षको नेतृत्व संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका सहसचिव कमलप्रसाद भट्टराई र चिनियाँ पक्षको नेतृत्व तिब्बतको विदेश मामिला कार्यालयका उच्च अधिकारीले गरेका थिए । बुधबार नै नेपाली प्रतिनिधिमण्डलका नेता भट्टराईले तिब्बत सरकारका कार्यकारी उपाध्यक्ष छन छेङ्कीसँग शिष्टाचार भेट गर्नुभएको हो ।
सोही अवसरमा आपसीहितका विविध विषयमा विचार आदानप्रदान हुनुका साथै नेपाल–चीन सम्बन्ध अभिवृद्धि गर्ने सामाजिक–आर्थिक मामिलामा छलफल भएको थियो । सहायता परियोजनाको अर्को बैठक दुवै पक्षलाई अनुकूल हुने समयमा आगामी महिना आयोजना गरिने दूतावासले जनाएको छ ।