तान्जानियामा बाढी-पहिरोका कारण १५५ जनाको मृत्यु, २३६ घाइते
एजेन्सी । तान्जानियामा भारी वर्षाका कारण आएको बाढी-पहिरोमा परी हालसम्म १ सय ५५ जनाको मृत्यु भएको छ ।
सोही बाढी-पहिरोमा परी २ सय ३६ जना घाइते भएको तान्जनिया सरकारले जनाएको हो । प्रधानमन्त्री कासिम मजलिवाले बिहीबार संसदलाई सम्बोधन गर्दै एल निनो जलवायु ढाँचाले चलिरहेको वर्षाको मौसममा बाढी आएको र सडक, पुल र रेलमार्गहरू ध्वस्त पारेको बताउनुभयो ।
उहाँले देशका विभिन्न भागमा तेज हावा, बाढी र पहिरोसँगै आएको भारी एल निनो वर्षाले ठूलो क्षति पुर्याएको जानकारी गराउनुभएको छ । एल निनो एक प्राकृतिक रूपमा हुने जलवायु ढाँचा हो । जुन सामान्यतया विश्वव्यापी रूपमा बढेको गर्मी, साथै खडेरी र भारी वर्षासँग सम्बन्धित रहेको जलवायु प्रणाली हो ।
वर्षाका विनाशकारी हुनुमा मुख्यतया वातावरणीय ह्रासका कारणहरू भएको उहाँको भनाइ थियो । वन फँडानी, कृषि र अनियमित पशुधन चराउने जस्ता दिगो खेती अभ्यासका कारण यस्तो भएको उहाँको तर्क छ ।
वर्षाबाट २ लाख भन्दा बढी मानिस र ५१ हजार घरपरिवार प्रभावित भएको प्रधानमन्त्री मजलिवाले बताउनुभयो । बाढीमा परेका विद्यालयहरू बन्द भएको र आपतकालीन सेवाहरूले बाढीको पानीमा फसेका मानिसहरूको उद्धार गरिरहेका पनि उहाँले जानकारी गराउनुभएको छ ।