सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले मुलुकको अग्रगामी रूपान्तरणका लागि ‘डिजिटल डिपार्चर’को विकल्प नभएको बताउनुभएको छ ।
काठमाडौं । सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले मुलुकको अग्रगामी रूपान्तरणका लागि ‘डिजिटल डिपार्चर’को विकल्प नभएको बताउनुभएको छ ।
नेपाल उद्योग वाणिज्य संघ काठमाडौंले शुक्रबार आयोजित ‘डिजिटल एक्स्पो’को शुभारम्भ गर्दै उहाँले यस्तो बताउनुभएको हो । गुणस्तरीय इन्टरनेट सेवाको पहुँच देशव्यापी बनाउन सरकार क्रियाशील रहेको उहाँले जानकारी दिनुभयो । सरकारले कृषि, ऊर्जा, पर्यटन र सूचना प्रविधि क्षेत्रलाई उच्च प्राथमिकतामा राखेको बताउँदै मन्त्री शर्माले सोही उद्योगमा लगानी गर्न निजी क्षेत्रसँग आग्रह गर्नुभएको छ । आसन्न लगानी सम्मेलनमा सूचना प्रविधिसम्बन्धी ३ वटा परियोजना ‘शो केस’मा राखिएको बता।उनुभएको छ ।
सूचना प्रविधिको विकाससँगै पछिल्ला समय अनलाइन व्यापार वृद्धि हुँदै गएको दृष्टान्त दिंदै उहाँले सूचना प्रविधिको प्रयोगलाई विश्वव्यापी बनाइनुपर्ने बताउनुभयो । डिजिटल व्यापारलाई थप व्यवस्थित बनाउदै लैजानु आजको आवश्यकता रहेको यसतर्फ आफूले सोचिरहेको उहाँको भनाइ छ । मन्त्री शर्माले निजी क्षेत्रले भोग्दै आएको समस्या समाधान गर्न आफू तयार रहेको बताउनुभएको हो ।
मुलुकमा लगानीको वातावरण बनाउन र वैदेशिक लगानी भित्र्याउन सरकारले प्रक्रियागत र कानूनी सुधार थालनी गरेको जानकारी दिंदै उहाँले निजी क्षेत्र पनि उत्साहित भएर अघि आउनुपर्ने बताउनुभएको छ । आफूले नीतिगत सुधार थालनी गरेको, निजी क्षेत्र पनि अगाडि आउनुपर्ने, सरकार र निजी क्षेत्रबीच बलियो साझेदारी आवश्यक भएको मन्त्री शर्माले बताउनुभयो ।