नेपालले पीएनजीविरुद्ध १५ ओभरमा ४ विकेट गुमाएर १२७ रन बनायो
दृष्टि सञ्चार संवाददाता । त्रिकोणात्मक टी-२० अन्तर्राष्ट्रिय क्रिकेट शृंखला खेल्न हङकङ भ्रमणमा रहेको नेपाली टोलीले मंगलबार जारी पपुवा न्यु गिनी (पीएनजी) विरुद्धको आफ्नो दोस्रो खेलमा १५ ओभरमा चार विकेट गुमाएर एक सय २७ रन बनाएको छ । नेपालका लागि सन्दीप जोरा १७ बलमा एक छक्का र तीन चौकाको मद्दतले ३५ र गुलसन झा एक रन बनाउँदै क्रिजमा सँघर्षरत छन् ।
त्यसअघि नेपालका लागि ओपनर ब्याट्सम्यान कुशल भुर्तेल ५९ रन बनाएर आउट भएका थिए । उनले ३९ बलको सामना गरी चार छक्का र चार चौका पनि हिर्काएका थिए । २७ वर्षीय कुशल भुर्तेलले टी-२० अन्तर्राष्ट्रियमा बनाएको यो आठौँ अर्धशतक हो । उनले टी-२० अन्तर्राष्ट्रियमा एउटा शतक पनि बनाएका छन् ।
त्यसअघि नेपालका अर्का ओपनर ब्याट्सम्यान विनोद भण्डारी २७ रन बनाउँदै आउट भएका थिए । उनले २२ बलमा एक छक्का र दुई चौका पनि हिर्काएका थिए । कप्तान रोहित पौडेल एक रनमा पेभेलियन फर्किएका थिए ।
आरिफ शेख पनि चार रनभन्दा अगाडि बढ्न सकेनन् । नेपालले टस हारी पहिले ब्याटिङको निम्तो पाएको हो । पीएनजीका बलर नोसाइना पोकाना, जोन कारिको, असाद भाला र नरम्यान भानुआले एक(एक विकेट लिए ।