महराको विषयमा माओवादीले निर्णय लिन सकेन
दृष्टि सञ्चार संवाददाता । नेकपा माओवादी केन्द्रको पदाधिकारी बैठकमा उपाध्यक्ष कृष्णबहादुर महराको विषयमा छलफल भएको छ । यद्यपि छलफल जारी रहेकाले ठोस निर्णय हुन बाँकी रहेको बैठकपछि प्रवक्ता अग्नि सापकोटाले जानकारी दिए ।
सोमबार सुन तस्करी प्रकरणमा पूर्वसभामुख समेत रहेका महरा पक्राउ परेपछि यस विषयमा मंगलबारको बैठकमा विविध कोणबाट बैठकमा छलफल भएको उनको भनाइ छ ।
‘उपाध्यक्ष महराको बारेमा धेरै राम्रोसँग छलफल भइरहेको छ। हरेक पाटाबारे गम्भीरतापूर्वक छलफल भइरहेको छ’, उनले भने, ‘बैठकले कुनै निष्कर्ष भने निकालेको छैन ।
आज प्रधानमन्त्री प्रचण्ड संसदमा प्रश्नोत्तर कार्यक्रममा सहभागी हुनुपर्ने भएकाले विस्तृतमा छलफल हुन नपाएको भन्दै सापकोटाले अर्को बैठकले यसबारे निर्णय लिने बताए । बैठकमा महरालाई जिम्मेवारीविहीन बनाउने या कसरी जाने भन्नेबारे छलफल केन्द्रित रहेको थियो ।
केही नेताले तत्काल निलम्बन गरेर अघि बढ्नुपर्ने धारणा राखेका थिए भने केहीले भने अदालतको निर्णय पर्खिनुपर्ने धारणा राखेका थिए । यसबारे अब बस्ने बैठकमा थप छलफल हुने बताइएको छ ।