नेविसंघ अध्यक्ष शेर्पालाई विवाद मिलाउन देउवाको निर्देशन
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले नेपाल विद्यार्थी संघ (नेविसंघ)को विवाद मिलाउन निर्देशन दिएका छन् । मंगलबार बिहान नेविसंघको शेखर कोइराला समूहका विद्यार्थी नेताहरु बुढानीलकण्ठ पुगेपछि देउवाले संघका अध्यक्ष दुजाङ शेर्पालाई विवाद मिलाउन निर्देशन दिएका हुन् ।
शेखर समूहका नेविसंघ केन्द्रीय सदस्यहरूले विवाद समाधान गर्न पहल गरिदिन देउवासँग आग्रह गरेका थिए । सभापति देउवाले शेर्पालाई टेलिफोन गरी विवाद समाधान गरेर मात्रै केन्द्रीय समिति बैठक गर्न निर्देशन दिएका छन्।
नेविसंघमा देखिएको गुटगत विवादका कारण अध्यक्ष शेर्पाले मंगलबार प्रज्ञा भवन कमलादीमा बोलाएको पहिलो केन्द्रीय समिति बैठक अनिश्चित छ । देउवा निवास पुगेको टोलीमा सहभागी केन्द्रीय सदस्य भुवन भट्टले सभापति देउवाले अध्यक्ष शेर्पालाई फोन गरेर विवाद समाधान गर्न निर्देशन दिएको बताए।