पर्यटन मन्त्रालयमा किरातीको एकल शासन
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किरातीको व्यवहारबाट आजित हुँदै केही दिन अघि मात्रै राज्यमन्त्री सुशीला सिर्पाली ठकुरी प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई भेट्न पुगिन् ।
आफ्नै पार्टीबाट मन्त्री बनेका किरातीको व्यवहारले आजित बनेकी ठकुरी ‘कि राज्यमन्त्रीबाट हटाईदिनुस् कि जिम्मेवारी दिनुस्,’ भन्दै प्रधानमन्त्री प्रचण्डलाई विन्ति विसाइन् ।
प्रचण्डले ‘किरातीलाई म सम्झाउँला,’ भनेर फर्काए । किरातीले अधिकार प्रत्यायोजन गर्दै प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयलाई समेत बोधार्थ दिएको पत्रमा राज्यमन्त्रीलाई १६ वटा जिम्मेवारी दिएको देखिन्छ ।
तर, व्यवहारमा ‘वाईपास’ गर्दै किरातीले एकलौटी निर्णय गरेको राज्यमन्त्री ठकुरीको गुनासो छ । गत साता मात्रै पशुपति क्षेत्र विकास कोषले विद्युतीय शवदाह गृह खरिद गर्ने प्रस्ताव अगाडि बढाएको थियो । कोषमा श्री गोरखनाथ कन्ट्रक्सन एन्ड मन्र्चेन्डिसर प्रालि र म्याप ईन्टरप्रेनर्स प्रालि गरी दुई कम्पनीले मात्र टेन्डर हालेका थिए ।
राज्यमन्त्री ठकुरीले टेन्डरमै गोलमाल भएको सूचना पाएपछि तत्काललाई काम रोक्न कोषका पदाधिकारीलाई निर्देशन दिइन् । तर, मन्त्री किराती आफैंले मन्त्रीस्तरीय निर्णय गरेर काम अगाडि बढाउन निर्देशन दिए ।
मन्त्रीले नै अधिकार प्रत्यायोजन गरेको विषयमा काम गर्दा उल्टै हस्तक्षेप हुँदा आफू हेपिएको महसुस ठकुरीले गरेकी छिन् । अर्को विषयअन्तर्गत सहसचिव चक्रबहादुर बुढालाई पर्यटन विभागको महानिर्देशक बनाएर पठाउने भन्दै सचिवलाई बोलाएर राय लेख्न ठकुरीले निर्देशन दिएकी थिईन् । सचिवले हुन्छ भने । तर, यसबारे मन्त्री किरातीलाई जानकारी गराएपछि राज्यमन्त्री ठकुरीको योजना तुहियो । मन्त्री किरातीले बुढालाई पर्यटन महाशाखाको मात्र जिम्मेवारी दिए ।
केही दिन अघिमात्रै पुरातत्व विभागका तीनजना प्रमुखहरुको सरुवामा समेत मन्त्रीले हस्तक्षेप गरेर सरुवा गरिदिएको ठकुरीको सचिवालयले जनाएको छ । पुरातत्व विभाग, राष्ट्रिय अभिलेखालय र संस्कृति महाशाखाको सहसचिव सरुवा गर्दा ठकुरीले चाल नै पाइनन् । मन्त्री किरातीले आफैं निर्णय गरेर सरुवा गरिदिए ।
सचिवालयका एक कर्मचारीका अनुसार मन्त्री किरातीले राज्यमन्त्री ठकुरीलाई एउटा पनि नीतिगत निर्णयमा सहभागी गराएका छैनन् । हवाई प्लाईङका लागि दुईवटा कम्पनीलाई स्वीकृति दिएका किरातीले यस विषयमा पनि ठकुरीलाई कुनै जानकारी दिएनन् ।
किरातीले योजनाका फाईलहरु सिधै आफै तानेर हेर्ने र निर्णय गर्ने गरेपछि मन्त्रालयका कर्मचारीहरुसमेत आश्चर्यचकित छन् । पर्यटन विभागको बजेट बनाउने कार्यमा समेत राज्यमन्त्री ठकुरीलाई सहभागी गराइएन ।
‘तपाईले राज्यमन्त्री ठकुरीलाई वाईपास गरेर निर्णय गर्नुहुन्छ रे हो ?’ भन्ने प्रश्नमा किराती भन्छन्,‘खै मैले त्यस्तो गरेजस्तो लाग्दैन । म काममा विश्वास गर्ने मान्छे, कुरा मिलाउन जान्दिन । कुरो यत्ति हो ।’
राज्यमन्त्री ठकुरीले आफूलाई प्रत्यायोजित अधिकार मन्त्री आफैले प्रयोग गर्ने गरेको गुनासो पोखिन् । उनले भनिन्,‘यो हाम्रो आन्तरिक मामिला हो । तर, सोधिहाल्नु भयो । म भन्छु । मलाई मन्त्रीज्यूले जुन अधिकार प्रत्यायोजन गर्नुभएको थियो, त्यो आफै प्रयोग गर्नुहुन्छ । यति भनेपछि कुरा बुझ्नु भयो होला ।’