कांग्रेस–एमालेलाई टक्कर दिने तयारीमा माओवादीको आइसीटी फोरम
माओवादी केन्द्र निकट जनवर्गीय संगठन ‘इन्फर्मेसन एण्ड कम्युनिकेसन टेक्नोलोजी’ (आइसीटी) फोरमले प्रमुख दुई दल नेपाली कांग्रेस र एमालेलाई टक्कर दिने गरी तत्कालीन योजना सार्वजनिक गरेको छ ।
पार्टीको जनवर्गीय, मोर्चाका केन्द्रीय समिति, प्रदेश समिति, जिल्ला समिति र स्थानीय समितिलाई आइसीटी फोरमले निर्णयबारे परिपत्र जारी गरेको हो । संगठन बनाउनुको उद्देश्य र तत्कालीन कार्यक्रमबारे सो संगठनले परिपत्रमार्फत जानकारी गराएको छ ।
साउन(१७–२१)सम्म राजधानीको कमलादीमा बसेको केन्द्रीय समिति बैठकले आइसीटी फोरम गठन गर्ने निर्णय गरेको थियो । २१ औं शताब्दीमा पनि सूचना र प्रविधि क्षेत्रमा माओवादी निकै कमजोर रहेको, पार्टी र सरकारले गरेको राम्रो कामको प्रचार प्रसार हुन नसकेको महसुस गरी आइसीटी फोरम बनाउन पार्टीले परिपत्र नै जारी गरेको थियो । फोरम माओवादीको कान्छो संगठन हो ।
बैठकको निर्णय बमोजिम भदौ १० गते प्रधानमन्त्री एवं अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गोविन्द आचार्यको अध्यक्षतामा २९ सदस्यीय कार्यसमिति घोषणा गरेका थिए । कार्यसमितिलाई स्थानीय तहसम्म विस्तार गर्ने योजना रहेको परिपत्रमा उल्लेख छ । आइसीटी फोरम बनाउनुको उद्देश्य सरकारको नीति तथा कार्यक्रम, राम्रा कामको व्यापक प्रचार प्रसार गर्ने, विपक्षी दलहरूबाट हुने अनर्गल प्रचारको आक्रामक रूपमा प्रतिपाद गर्ने रहेको छ । ‘एक कमिटी एक आइसीटी फोरम गठन गर्ने’ पनि परिपत्रमा उल्लेख छ ।