भीम रावललाई ओलीको ‘ग्रीन सिग्नल’ : के पाउँदैछन् जिम्मेवारी ?
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले गत साता पार्टीभित्र चर्चामा रहेका दुई वटा विषयमा सांकेतिक कदम चाले । पहिलो, पूर्वराष्ट्रपति विद्या भण्डारी एमालेको सक्रिय राजनीतिमा आउने चर्चालाई ओलीले अस्वीकार गर्दै खण्डन गरे । दोस्रो, आफूसँग लामो समय संवादहीनताको अवस्थामा रहेका पूर्व उपाध्यक्षसमेत रहेका नेता भीम रावलसँग लामो भलाकुसारी गरे ।
यी दुई घटनापछि विभिन्न कोणबाट ओलीका कदमको विश्लेषण भइरहेका छन् । खासगरी ओलीका यी दुई कदमपछि पूर्वउपाध्यक्ष समेत रहेकी पूर्वराष्ट्रपति विद्या भण्डारीको सक्रिय राजनीति गर्ने चाहनाप्रति ‘रेडलाइट’ अर्थात् रातो बत्ती बलेको रुपमा केही एमाले नेता कार्यकर्ताले बुझेका छन् भने रावलको हकमा ‘ग्रीन’ अर्थात हरियो बत्ती बलेको रुपमा चर्चा र विश्लेषण भइरहेका छन् ।
भण्डारी गत फागुन अन्तिम साताबाट राष्ट्रपतिको कार्यकाल सकाएर फुर्सदमा बसेकी छन् भने रावल गत ०७९ को निर्वाचनमा जिल्ला र प्रदेशबाट प्रतिनिधि सभा सदस्य उम्मेदवारका लागि सर्वसम्मत सिफारिस भए पनि ओलीले टिकट दिएनन् भने हालसम्म भूमिकाहीन नै छन् । ओलीले महाधिवेशनमा आफूविरुद्ध उम्मेदवारी दिएको प्रतिशोधस्वरुप निर्वाचनमा रावललाई टिकट नदिएको चर्चा त्यसै बेलादेखि नै एमालेभित्रै चल्दै आएको थियो ।
२०७८ मंसिरमा सम्पन्न नेकपा एमालेको चितवन महाधिवेशनमा अध्यक्ष पदका लागि केपी शर्मा ओलीसँग प्रतिस्पर्धा गरेका नेता रावल त्यसयता पार्टीमा खासै सक्रिय थिएनन् । त्यसपछि २०७९ को निर्वाचनमा समेत टिकट नपाएपछि आफूविरुद्ध अन्याय भएको महसुस गर्दै आएका रावल बितेको झण्डै २० महिना एमालेको साधारण सदस्यको भूमिकामै सीमित रहे ।