राप्रपामा राजेन्द्र लिङ्देनलाई बाइपास गरेर बैठक, पार्टीमा बढ्यो अविश्वास
शीर्ष तहकै केही नेताहरूको गतिविधिले राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)भित्र अविश्वासको अवस्था देखिएको छ । असार २९ र साउन २७ मा लगातार राप्रपाका संस्थापक अध्यक्ष लोकेन्द्र बहादुर चन्दको निवास तथा अन्य स्थानमा पनि छुट्टाछुट्टै बैठक हुन थालेपछि पार्टीभित्र अविश्वासको अवस्था देखिएको हो ।
पार्टी अध्यक्षलाई ‘नोटिस’ नगराई भएको यस्ता छलफलले अविश्वासको वातावरण पैदा हुने संस्थापनको भनाइ छ । यस्तै छुट्टै छलफलमा सहभागी नेताहरू भने राप्रपालाई जनता माझ मजबुत रूपमा स्थापित गराउने सन्दर्भमा भएको बैठकलाई अन्यथा लिन नहुने बताउँछन् ।
पटक–पटक फुट्दै र जुट्दै आएको राप्रपामा पछिल्लो समय देखिएको गतिविधिले सो पार्टीभित्र फेरि तरङ्ग ल्याएको छ । असार २९ मा राप्रपाका निर्देशन समितिका अध्यक्ष डा प्रकाशचन्द्र लोहनीसहितका नेताहरू चन्द निवास लोकन्थलीमा छलफलका लागि पुगेका थिए ।
सो छलफलमा लोहनीसहित राप्रपा वरिष्ठ नेता एवं अनुशासन समितिका अध्यक्ष नवराज सुवेदी, वरिष्ठ नेता हरिबहादुर बस्नेतलगायतका नेता समेत सहभागी थिए ।