२१ महिनापछि कमल थापाको यूटर्न : गणतन्त्र मान्ने एजेन्डा फिर्ता !
सार्वजनिक रुपमा राजसंस्थाको एजेन्डा छाडेर गणतन्त्रात्मक व्यवस्थामा पाइला चाल्न थालिसकेका राप्रपा नेपालका अध्यक्ष कमल थापा फेरि पुरानै एजेन्डामा ‘ब्याक’ भएका छन् । काठमाडौँमा आयोजित केन्द्रीय समिति बैठकमा आधिकारिक दस्ताबेज नै ल्याएर थापाले आफ्नो पुरानो एजेन्डा 'संवैधानिक राजसंस्थासहितको हिन्दुराष्ट्र' ब्युँताएका हुन् ।
यसअघि थापाले हिन्दुराष्ट्रको एजेन्डालाई कायमै राखेको भए पनि राजसंस्थाको एजेन्डा बोक्न नसकिने भन्दै गणतान्त्रिक व्यवस्थातर्फ पार्टीलाई ढालेका थिए । सोहीअनुसार थापाले एमालेको एजेन्डा बोकेर गत निर्वाचनमा मकवानपुरबाट निर्वाचन समेत लडेका थिए । एमालेको सूर्य चिह्नमा चुनाव लडेपनि थापा पराजित भएका थिए भने उनको पार्टीले समानुपातिकतर्फ लज्जास्पद नतिजा ल्याएको थियो ।
अहिले पार्टी औपचारिकतामा मात्रै सीमित रहेको बेला थापाले फेरि छाडिसकेको एजेन्डालाई ब्युँताएका मात्रै छैनन्, आफ्नो पुरानो पार्टी राप्रपासँग समेत एजेन्डागत हिसाबले नजिकिएका छन् । यसले आगामी दिनमा थापालाई फेरि पुरानो पार्टीमा फर्किन चाहेको अवस्थामा एजेन्डागत हिसाबले सहज भएको राप्रपाका नेताहरू बताउँछन् । तर, पार्टी एकता वा सहकार्यबारे अहिलेसम्म कुनै औपचारिक छलफल नभएकाले तत्काल यो सम्भावना भने देखिँदैन ।
२०७८ मङ्सिरमा राजेन्द्र लिङ्देनसँग अध्यक्षमा पराजित भएसँगै थापाले पूर्वराजाले राप्रपाको महाधिवेशनमा हस्तक्षेप गरेर आफूलाई हराएको आरोप लगाएका थिए । त्यससँगै उनले आफूले राजतन्त्रको एजेन्डा पनि छाडेको घोषणा गर्दै छुट्टै पार्टी राप्रपा नेपाल गठन गरेका थिए । उसो त थापाले पूर्वराजाबाट भएको हस्तक्षेपबारे छानबिनका लागि अध्यक्ष राजेन्द्र लिङ्देनलाई आग्रह समेत गरेका थिए । लिङ्देनले थापाको माग सिधै अस्वीकार गरिदिएपछि उनले फरक बाटो रोजेका हुन् ।