माओवादी केन्द्रको मिसन २०८४ : पाँच ‘स’ को रणनीतिले लेला गति ?
शान्ति प्रक्रियामा आएपछि संसदीय राजनीतिमा नेकपा (माओवादी केन्द्र) ले निरन्तर धक्का खाएपछि आगामी निर्वाचनमा आक्रामक रणनीति बनाउने तयारीमा जुटेको छ । २०८४ को निर्वाचनमा पुनः बलियो शक्तिको रूपमा फर्किन उसले पाँच ‘स’ रणनीतिक हतियार बनाउन लागेको हो ।
गत मङ्सिरमा भएको निर्वाचनमा ३२ सिट सिटसहित तेस्रो शक्तिमा खुम्चिएको उसले प्रज्ञा भवन कमलादीमा साउन (१७–२१)सम्म चुनावी परिणाम, सरकार सञ्चालन, पार्टीको अवस्था, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय परिवेशबारे गम्भीर समीक्षा गर्यो ।
टुटफुट र गुटबन्दीका कारण पार्टी निरन्तर कमजोर भएको निष्कर्ष निकाल्दै बैठकले ‘जनतासँग माओवादी विशेष’ तीन महिने अभियान सञ्चालन गर्ने निर्णय गरेको छ । यो पटक नीति र नेतृत्वमाथि केन्द्रीय सदस्यहरूले खुलेर आलोचना गरे ।
माओवादी केन्द्रका लागि अन्तिम अवसर भएकाले मिसन २०८४ को रणनीति बनाउन नेतृत्वलाई सहभागीहरूले सुझाव दिएका छन् । भदौ १६ गते ७५३ वटै पालिकाको ६ हजार ७४३ वडामा एकसाथ भव्य समारोहबीच अभियानको उद्घाटन गर्ने तयारी गरेको छ ।
‘माओवादी विभाजन हुँदा संसदीय राजनीतिमा हामी निरन्तर कमजोर भएका छौँ । हाम्रो लागि यो अन्तिम अवसर हो । मिसन २०८४ मा कम्तीमा ८४ सिट ल्याउने गरी आक्रामक रणनीति बनाउन सुझाव दिएका छौँ ।
मिसनलाई लक्षित गरी अध्यक्षले प्रस्तुत गरेको परिमार्जित राजनीति प्रतिवेदन तयार हुँदैछ । साउन मसान्तसम्म सबै केन्द्रीय सदस्यहरूको हात हातमा प्रतिवेदन पुग्छ’, केन्द्रीय कार्यालय सचिव डोरप्रसाद उपाध्यायले जानकारी दिए ।
बुधबार केन्द्रीय कार्यालय पेरिसडाँडामा पत्रकार सम्मेलन गरी प्रवक्ता अग्निप्रसाद सापकोटाले समृद्धिका चार आधारसहित जनतासँग विशेष अभियान सञ्चालन गर्ने जानकारी गराए । नेपालको भूराजनीति जटिल मोडमा रहेकाले शक्ति राष्ट्रसँग सन्तुलित कूटनैतिक सम्बन्ध कायम राखी अगाडि बढ्ने उनको भनाइ छ ।
साथै, प्राथमिकतामा कृषि क्षेत्रको आधुनिकीकरण, उद्योगधन्दा तथा औद्योगीकरण, राष्ट्रिय सुरक्षा र विज्ञान तथा प्रविधिको उच्चतम प्रयोगमा विशेष जोड दिएको छ ।
‘केन्द्रीय समिति बैठकले विधान सम्मेलन गर्ने महत्त्वपूर्ण निर्णय गरेको छ । यसले वैचारिक, राजनैतिक र सांगठनिक समस्याको हल गरी पार्टीलाई विधि, प्रक्रिया र पद्धतिमा लैजानेछ । त्यसपछि हुने विशेष महाधिवेशनले पार्टी थप बलियो हुनेछ’, उनले भने, ‘त्यसअघि मओवादीलाई जनतामाझ पुनः स्थापित गर्न समृद्धिका चार आधारसहित तीन महिने विशेष अभियान लिएर जाने निर्णय भएको छ । त्यसकै तयारीमा हामी जुटेका छौँ । २०८४ को निर्वाचनमा हामी पुनः बलियो शक्तिको रूपमा उदाउने छौँ ।’
दश वर्षे सशस्त्र विद्रोह त्यागेर शान्तिपूर्ण राजनीतिमा आएको १७ वर्षमा माओवादी अस्तित्व रक्षाका लागि प्रतिस्पर्धा गरिरहेको छ । संसदीय राजनीतिका पुराना तथा अनुभवी राजनीतिक दल कांग्रेस र एमालेसँग सङ्घर्षपूर्ण प्रतिस्पर्धा गरिरहेको माओवादीले २०७९ को निर्वाचनमा आइपुग्दा नयाँ दलहरूको कठिन सामना गरिरहेको छ ।
जनतासँग पार्टीको सम्बन्धन विस्तार नगरे आगामी निर्वाचनमा ठुलो क्षति बेहोर्ने निष्कर्षका साथ माओवादी केन्द्र पुनः जनतामाझ जना लागेको हो ।