मधेस प्रदेश : सुरितालाई जिम्मेवारी दिन फेरि मन्त्रालय टुक्रयाइने
मधेस प्रदेशमा पुनः एक मन्त्रालय थप हुने भएको छ । प्रदेश सरकारमा सहभागी हुने दलहरूको सङ्ख्या बढेपछि मुख्यमन्त्री सरोजकुमार यादवले मन्त्रालयको सङ्ख्या बढाउने भएका हुन् ।गत जेठ ११ मा मुख्यमन्त्री यादवले चौथो पटक मन्त्री परिषद् विस्तार गर्दा दुई जना मन्त्रीलाई जिम्मेवारीविहीन बनाइएको थियो । उनीहरूलाई जिम्मेवारीविहीन बनाएसँगै पूर्णता नपाएको मधेस प्रदेश सरकारले गत साउन १५ मा पूर्णता पायो । विना विभागीय मन्त्री रहेका वसन्त कुशवाहक र राज्यमन्त्री सञ्जयकुमार यादवले राजीनामा दिए । उनको सट्टामा जनमत पार्टीले प्रमुख सचेत चन्दन सिंह श्रम तथा यातायात मन्त्री र मञ्जु खंगलाई राज्यमन्त्री बनाए । कुशवाहकसँगै जिम्मेवारीविहीन रहेकी जसपाकी सुरिता कुमारी साहले भने अन्तिम पटक भएको सरकार विस्तारमा पनि जिम्मेवारी पाइनन् । कर्मचारीलाई अतिरिक्त समूहमा राखिए जस्तै मुख्यमन्त्री कार्यालयमा मन्त्रीको रूपमा उनलाई राखियो ।
दश दिनदेखि उनलाई मुख्यमन्त्री कार्यालयमा बस्न टेबुल कुर्सी दिएर तत्कालका लागि व्यवस्थापन गरिएको छ । तत्कालीन समयमा लोसपा नेतृ रहेकी उनी पार्टीबाट टिकट नपाएपछि महोत्तरी २ (ख) बाट स्वतन्त्र लडेर निर्वाचित भएपछि जसपा प्रवेश गरेकी थिइन् । तर, प्रदेश सरकारमा सहभागी हुने दलहरूको सङ्ख्या बढेपछि मन्त्री व्यवस्थापन गर्न मुख्यमन्त्री यादवलाई कठिनाइ भएको छ । यता सुरिताले मन्त्री नपाए पार्टी छाडेर जाने चेतावनी दिएपछि नामकै लागि भए पनि मुख्यमन्त्री कार्यालयमा राखेर अन्यत्र व्यवस्थापन गर्ने सरकारको तयारी रहेको स्रोत बतायो ।
तत्कालै मन्त्री साहलाई व्यवस्थापन गर्ने कुनै तयारी नरहेको मुख्यमन्त्री सरोजकुमार यादवले बताएका छन् । ‘उहाँको व्यवस्थापन हुन्छ, मुख्यमन्त्री यादवले भने, ‘कुनै मन्त्रालय टुक्राएर हुन्छ कि नयाँ मन्त्रालय नै सिर्जना गरेर हुन्छ वा कुनै मन्त्रीलाई हटाएर भए पनि उहाँको व्यवस्थापन जसरी पनि गरिन्छ । तर, ठ्याक्कै अहिले नै उहाँको व्यवस्थापन हुन्छ भनेर भन्न गाह्रो छ ।’
स्रोतका अनुसार साहलाई व्यवस्थापन गर्न शिक्षा तथा समाज कल्याण मन्त्रालयलाई फुटाउने मुख्यमन्त्रीको तयारी रहेको छ । शिक्षा तथा समाज कल्याण मन्त्रालयलाई फुटाएर पहिला जस्तै महिला, बालबालिका तथा युवा खेलकुद मन्त्रालय र शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय बनाउने मुख्यमन्त्रीको योजना छ ।
यसरी मन्त्रालय टुक्राउँदा एउटाको जिम्मेवारी हाल शिक्षा तथा समाज कल्याण मन्त्रालयको जिम्मेवारी सम्हालिरहेका जनमतका महेश प्रसाद यादवले सम्हाल्नेछन् भने अर्को मन्त्रालयको जिम्मेवारी सुरिता साहलाई दिइने प्रदेश सरकार निकट स्रोतको भनाई छ ।
सरकारमा अहिले मुख्यमन्त्री, मन्त्री र राज्यमन्त्री गरी जम्मा १४ जना मन्त्री छन् । तत्कालका लागि मन्त्री साहलाई सरकारको प्रवक्ताको जिम्मेवारी दिने तयारीसमेत भईरहेको बताइएको छ।