‘क्रिकेट खेलाडी भनेर चिनिनु नै ठूलो आत्मसन्तुष्टि’
नेपाल क्रिकेट टिमका पूर्वकप्तान ज्ञानेन्द्र मल्लले अन्तर्राष्ट्रिय खेल जीवनबाट सन्यास घोषणा गरेका छन् । शुक्रबार पत्रकार सम्मेलन गरेर मल्लले करिब १८ वर्ष लामो खेलाडी जीवनबाट विश्राम लिएको घोषणा गरे ।
नोभेम्बर २०१९ देखि डिसेम्बर २०२१ सम्म कप्तान रहेका मल्ल पछिल्लो समय राष्ट्रिय टिममा परे पनि धेरै समय बेञ्चमै रहे । विश्वकप छनोटमा प्ले अफमा मात्र अवसर पाएका उनी एसिया इमर्जिङ कप खेल्ने टोलीमा अटाएनन् । लगत्तै हाई पर्फर्मेन्स ट्रेनिङका लागि नाम सिफारिस हुँदा पनि श्रीलंका नगएका उनले एसिया कपको पूर्वसन्ध्यामा सन्यास घोषणा गरेका हुन् ।
कुनै समय एसिया कपसम्म खेल्छु भन्ने लागे पनि अहिले सन्यासका लागि यो नै उपयुक्त समय हो भन्ने लागेको उनले सुनाए । पूर्व कप्तान मल्लले अघि भने, ‘पहिला जुन ढंगले सोच्थें, जति गर्न सक्ने क्षमता छ भन्ने ठान्थें, त्यसो गर्न नसकेपछि माइलस्टोनका लागि टिममा झुन्डिएर बस्नु उपयुक्त लागेन ।’
क्रिकेट सेफ साइडमा रहेको र टिमले राम्रो गरिरहेकाले पनि यो निर्णयमा पुगेको उनले बताए ।