स्वास्थ्य अनुसन्धानका क्षेत्रमा राज्यले लगानी बढाउँछ
काठमाडौं । राष्ट्रिय योजना आयोगका उपाध्यक्ष मिन बहादुर श्रेष्ठले, स्वास्थ्य अनुसन्धानका क्षेत्रमा राज्यले लगानी बढाउने प्रतिवद्धता जनाएका छन् ।
नेपाल स्वास्थ्य अनुसन्धान परिषद्को ३२ औं वार्षिक उत्सवको अवसरमा आयोजित जनस्वास्थ्य वैज्ञानिकहरूको ९ औं राष्ट्रिय शिखर सम्मेलनमा बोल्दै उनले वैज्ञानिक, बौद्धिक र विशिष्ट प्रतिभाहरूको संरक्षणका लागि विशेष कार्यक्रम लागू गरिने बताए।
उनले भने, ‘हाम्रो संविधानले तय गरेको वैज्ञानिक अध्ययन, अनुसन्धान एवम् प्रविधिको आविष्कारमा लगानी बढाउने तथा वैज्ञानिक प्राविधिक र बौद्धिक उत्कृष्ट प्रतिभाको संरक्षण गर्ने उल्लेख गरिएको छ । यो व्यवस्थालाई दृष्टिगत गरी खोज र अनुसन्धानबाट प्राप्त तथ्य तथ्याङ्कका आधारमा स्वास्थ्य नीति, रणनीति, योजना तर्जुमा गर्ने गरी नेपाल सरकारले स्वास्थ्य अनुसन्धानका क्षेत्रमा राज्यको लगानी अभिवृद्धि गर्ने छ । साथै वैज्ञानिक, बौद्धिक र विशिष्ट प्रतिभाहरूको संरक्षणका लागि विशेष कार्यक्रम लागू गरिने छ।
देश र समाज अनुकुलको नीति निर्माणमा अनुसन्धानबाट प्राप्त तथ्य तथ्याङ्क र नयाँ खोजको महत्वपूर्ण स्थान रहेको भन्दै उनले नेपालमा पनि त्यसका लागि आवश्यक प्रयास भइहेको बताए ।
उनले स्वास्थ्य अनुसन्धान परिषद्ले स्वास्थ्य क्षेत्रको विकासका लागि खेलेको भूमिका प्रशंसनीय रहेको उनको भनाई छ । ‘नेपालमा पनि आफ्नो स्थापना कालदेखि नेपाल स्वास्थ्य अनुसन्धान परिषद्ले स्वास्थ्य क्षेत्रमा अनुसन्धानका लागि नियमन गर्न, गुणस्तरीय अनुसन्धानको प्रोत्साहन गर्न, यसको लागि वातावरण तयार पार्न र त्यसबाट प्राप्त तथ्याङ्कहरूको आधारमा स्वास्थ्य सम्बन्धी नीति नियमको कार्यक्रम तर्जुमा र कार्यान्वयन गर्न खेलेको भूमिका प्रशंसा गर्न सक्छ ।’