लुम्बिनीमा निर्मित अन्तर्राष्ट्रिय सभा हलको प्रधानमन्त्रीले उदघाटन गरे
प्रधानमन्त्री शेरबहादुर देउवाले बुद्ध जन्मस्थल लुम्बिनीमा निर्मित अन्तर्राष्ट्रिय सभा हल तथा ध्यान केन्द्रको आज बिहान उदघाटन गरेका छन् ।५ हजार जना क्षमताको सम्मेलन केन्द्रको २०७५ साल वैशाख १७ गते राष्ट्रपति विद्यादेवी भण्डारीले शिलान्यास गरेकी थिइन् । चार बिघा क्षेत्रफलमा निर्माण भएको उक्त सम्मेलन केन्द्रको प्रधानमन्त्री देउवाले आज बिहान उदघाटन गरेका हुन् ।
प्रधानमन्त्री देउवा र भारतीय समकक्षी नरेन्द्र मोदीले आज सोही सम्मेलन केन्द्रमा आयोजित २५६६ औं बुद्धजयन्ती समारोहलाई सम्बोधन गर्ने कार्यक्रम छ ।लुम्बिनी विकास कोषका योजना प्रमुख सरोज भट्टराईका अनुसार यो सभा हल मुलुककै ठूलो र दक्षिण एशियाकै नमूना हो । लुम्बिनी, अर्घाखाँची बाबुल जेभीले यो सम्मेलन केन्द्र बनाएको हो ।
२०७७ असारभित्रै सम्पन्न गरिसक्नुपर्ने सम्झौताको शर्त भएपछि कोरोना महामारीको कारण २ वर्ष ढिलो गरी विकास कोषका कोषाध्यक्ष सिद्धिचरण भट्टराईले बताए । कोरोना महामारीका कारण निर्माण कार्य प्रभावित बनेपछि २०७९ साल असार मसान्तसम्म समय थप गरिएको थियो ।
पहिलो चरणमा सभाहल, दुईटा शौचालय र कन्ट्रोल रूम लगायतका काम भएका थिए भने दोस्रो चरणमा कम्पाउन्ड वाल, पाहुनाहरूको लागि प्रतिक्षा कक्ष, ल्याण्ड स्केप, भिआईपीलाई आराम गर्न, छलफल र बैठक गर्न दुइटा भिआइपी कक्ष निर्माण पार्किङ, विद्युतीकरण, बुद्ध मूर्तिसहितको आकर्षक वाटर फाउन्टेन लगायतका काम भएका छन् ।