खैरो हेरोइन तस्करी गर्ने गिरोहका ९ जना पक्राउ, ३९४ ग्राम बरामद
भारतबाट मधेश प्रदेश हुँदै काठमाडौं उपत्यकासम्म खैरो हेरोइनको अवैध ओसारपसार गर्ने गिरोहका नौ जना पक्राउ परेका छन्। लागुऔषध नियन्त्रण ब्युरोले लामो अनुसन्धान र निगरानीपछि मंसिर ३ गतेदेखि सञ्चालन गरेको विशेष अपरेसनमा उनीहरूलाई पक्राउ गरेको हो।
ब्युरोले उनीहरूको साथबाट ३९४ ग्राम १० मिलिग्राम खैरो हेरोइन र दुई लाख ५४ हजार रुपैयाँ नगद बरामद गरेको छ।
पक्राउ पर्नेमा काठमाडौंका रञ्जन थापा, सिन्धुलीका देवराज बम्जन, निशान बम्जन र विशाल मोक्तान, चन्द्रागिरिका पदमबहादुर तिमिल्सिना, लक्ष्मण पण्डित दास तत्मा, तनहुँका शैलेन्द्र बजगाईं, गोरखाका सिजन रेग्मी र सिरहाका विवेककुमार साह रहेका छन्।
प्रहरी अनुसन्धानअनुसार विशाल मोक्तानले सिन्धुलीमा बसेर भारतीय कारोबारीसँग सम्पर्क गरी खैरो हेरोइन खरिद गरेर काठमाडौं ल्याउने गरेका थिए। काठमाडौंमा रञ्जन थापालगायतले उक्त लागुऔषध बिक्री गर्ने गरेको खुलेको छ। पक्राउ परेका थापा यसअघि पनि २६२ ग्राम ६२ मिलिग्राम खैरो हेरोइनसम्बन्धी मुद्दामा फरार रहेको प्रहरीले जनाएको छ।
लागुऔषध नियन्त्रण ब्युरोका एसएसपी सुबास बोहराका अनुसार सूक्ष्म निगरानी र प्रोफाइलिङपछि गिरोहको सञ्जाल भत्काउन सफल भएको हो। पक्राउ परेकाहरूमाथि थप अनुसन्धान भइरहेको छ।