चोरीको माइक्रोबससहित काठमाडौँबाट दुई जना पक्राउ
काठमाडौँमा चोरी भएको माइक्रोबससहित दुई जना पक्राउ परेका छन्। प्रहरी वृत्त स्वयंभूबाट खटिएको टोलीले धादिङको गल्छी गाउँपालिका–६ घर भई हाल कलङ्की बस्ने बाबुराम तामाङ र सिन्धुलीको लखनपुर घर भई स्वयम्भू बस्ने विशाल लामालाई पक्राउ गरेको हो।
बा.१ ज. ९८०५ नम्बरको माइक्रोबस गत कात्तिक २९ गते नागार्जुन नगरपालिका–बाफलबाट हराएको थियो। सोही घटनाबारे परेको उजुरीका आधारमा प्रहरीले अनुसन्धान गर्दा मङ्सिर २ गते कलङ्कीबाट माइक्रोबस बरामद गरेको थियो।
पक्राउ परेका दुवै जनालाई जिल्ला अदालत काठमाडौँबाट पाँच दिनको म्याद थप गरी थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी परिसर काठमाडौँले जनाएको छ।