बेन्जेमा निर्णायक बन्दा रियल सेमिफाइनलमा, दोस्रो लेग जितेर पनि चेल्सी बाहिरियो
फरवार्ड करिम बेन्जेमा फेरि एक पटक निर्णायक बन्दा साविक विजेता चेल्सीलाई समग्रमा ५-४ ले हराएर स्पानिस क्लब रियल मड्रिड युरोपियन च्याम्पियन्स लिगको सेमिफाइनलमा प्रवेश गरेको छ ।
मंगलबार राती घरेलु मैदान सान्टियागो बर्नाबेउमै भएको खेलमा रियल चेल्सीसँग ३-२ ले पराजित भयो । तर पहिलो लेगमा प्राप्त ३-१ को जितले गर्दा रियल समग्रमा ५-४ ले खेल आफ्नो पक्षमा पार्न सफल भयो ।
पहिलो लेगमा चेल्सीविरुद्ध उसैको मैदानमा ह्याट्रिक गरेका बेन्जेमा स्कोर बराबरी भएको अवस्थामा अतिरिक्त समयमा निर्णायक गोल गरेका हुन् ।
पहिलो लेगमा दुई गोलले पछि परेपछि चेल्सीका लागि सेमिफाइनल पुग्न ठूलो चुनौती तेर्सिएको थियो ।