गठबन्धनभित्र देखिएको असन्तुष्टिले निर्वाचन परिणाममा फरक पर्दैन : प्रचण्ड
कपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सत्तारुढ गठबन्धनभित्र भागबन्डामा देखिएको असन्तुष्टिले निर्वाचन परिणाममा फरक नपार्ने दाबी गरेका छन् । उनले गठबन्धनभित्र देखिएका असन्तुष्टि क्रमशः मिल्दै जाने विश्वास पनि व्यक्त गरे ।
धनगढी विमानस्थलमा प्रेस सेन्टर कैलीले आज आयोजना गरेको पत्रकार सम्मेलनमा प्रचण्डले टिकट वितरणको विषयमा एउटै दलभित्र पनि असन्तुष्टि हुने भन्दै गठबन्धनभित्र देखिनुु स्वाभाविक भएको बताए ।
सत्ता गठबन्धनका दलहरुबीच केन्द्रमा भएको तालमेलको मर्म र भावनालाई आत्मसाथ गरी देशैभर गठबन्धन गर्नुपर्ने उनले बताए । सहमति नभए मित्रवत प्रतिस्पर्धा गर्ने भनिए पनि तालेमललाई नै प्राथमिकता दिनुपर्नेमा उनले जोड दिए ।
फरक प्रसंगमा बोल्दै प्रचण्डले प्रधानमन्त्री शेरबहादुर देउवा र अर्थमन्त्री जनार्दन शर्माबीच सल्लाहमै नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीलाई हटाइएको दाबी गरे ।