सात दिन भित्र ८६ करोड बक्यौता बुझाउन पाँच क्यासिनोलाई अल्टिमेटम
संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय अन्तर्गतको पर्यटन विभागले ५ कम्पनीलाई क्यासिनो रोयल्टी तथा नवीकरण वापतको बाँकी बक्यौता बुझाउन सात दिनको म्याद दिएको छ।
मन्त्रालयले रोयल्टी र नवीकरणबापतको ८६ करोड रकम तिर्न आलटाल गर्ने पाँच क्यासिनोलाई कारबाहीको चेतावनीसहित ७ दिनको म्याद दिएको हो। सात दिनभित्र भुक्तानी नगरे इजाजत रद्द गर्ने मन्त्रालयको निर्णय छ।
यी क्यासिनोले कुल ८५ करोड ८४ लाख ४७ हजार ८ सय ४८ रूपैयाँ सरकारलाई तिर्न बाँकी छ।
सबैभन्दा बढी ह्याप्पी आवरले २१ करोड ५५ लाख, होटेल याक एन्ड यतीले २० करोड ६८ लाख १५ हजार, ओरियन्टल (र्याडिसन) ले १८ करोड ७६ लाख, सेन्ट्रल मिडियाले १३ करोड ३९ लाख ५० हजार र रक इन्टरनेसनलले ११ करोड ४५ लाख ८२ हजार ८ सय ४८ तिर्न बाँकी छ।
हालसम्म पनि बक्यौता रकम दाखिला नगरेपछि विभागले आज सार्वजनिक सूचना जारी गरी सात दिनको म्याद दिएको हो ।
सात दिनभित्र पनि बक्यौता रकम दाखिला नगरे कानून बमोजिम कारबाही गर्ने विभागले चेतावनी दिएको छ ।