नेपालमा १८ वर्ष माथिका ७० प्रतिशतले लगाए पूर्ण खोप
कोभिड–१९ विरुद्धको खोप अभियानमा नेपालका १८ वर्ष माथिको ७० प्रतिशत व्यक्तिहरुलाई पूर्ण खोप लगाएका छन्।
विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) ले ७० प्रतिशत वयस्क जनसंख्यालाई कोभिडविरुद्धको पूर्ण खोप प्रदान गर्न सफल भएकोमा नेपाललाई बधाई पनि दिएको छ।
‘७० प्रतिशत जनसंख्यालाई कोभिडविरुद्धको पूर्ण खोप लगाउन सफल भएकोमा नेपाललाई बधाई। यो नेपाल तथा सहयोगी निकायको ठूलो सफलता हो। एकजुट भइ सहकार्य गरे जे पनि सम्भव हुने यसले साबित गरेको छ,’ डब्ल्यूएचओ नेपालले ट्विटरमार्फत् बधाई दिँदै भनेको छ।
नेपाल सरकारले चैत्र मसान्तसम्म १८ वर्ष माथिका १०० प्रतिशत नागरिकलाई पूर्णखोप लगाइसक्ने लक्ष्य सहित देशभर खोप अभियान चलाइरहेको छ।
आगामी चैत मसान्तसम्म १८ वर्षमाथिका सबै नागरिकलाई पूर्णमात्रा खोप लगाइसक्ने लक्ष्य लिएको छ।
प्रधानमन्त्रीमा शेरबहादुर देउवा निर्वाचित भएपछि ‘खोप, खोप र खोप’ को नीतिअनुसार अघि बढ्दा दक्षिण एशियामै कोभिडविरुद्धको खोप धेरै प्रतिशतलाई लगाउने मुलुकमा नेपाल उक्लिएको हो। प्रधानमन्त्री देउवा सरकारको नेतृत्व लिएपछि खोप खरिद द्रुतगतिमा अघि बढेको, खोप केन्द्र आवश्यकताअनुसार बढाइएको र खोप लगाउने जनशक्तिमा व्यापक वृद्धि गरेका कारण खोप व्यवस्थापन चुस्त भएको हो।
हाल सबै प्रदेशमा कोभिसिल्ड/एस्ट्राजेनेका र सिनोफार्मका पहिलो तथा दोस्रो मात्रा खोप लगाइरहेको छ भने ५७ जिल्लामा मोडर्ना खोपको पहिलो मात्रा खोप दिइरहेको छ।