आफ्नै ‘डिजिटल करेन्सी’ ल्याउन राष्ट्र बैंकले अध्ययन थाल्याे
आफ्नै भर्चुअल मुद्रा (डिजिटल करेन्स) ल्याउन नेपाल राष्ट्र बैंकले अध्ययन सुरु गरेको छ । पछिल्लो समय क्रिप्टो करेन्सी जस्ता मुद्राहरूलाई अवैध कारोबार भन्दै कारबारही सुरु गरेको राष्ट्र बैंकले आफ्नै करेन्सी ल्याउन समिति नै बनाएर छलफल सुरु गरेको हो ।
नेपाल राष्ट्र बैंकका प्रवक्ता डा. गुणाकर भट्टले प्रारम्भिक चरणको अध्ययन सुरु गरिएको बताए । पछिल्लो समय धेरै मुलुकहरूमा डिजिटल मुद्राको कारोबार हुने गरेको छ । बिट क्वाइन, क्रिप्टोकरेन्सी जस्ता मुद्राहरू नेपालमा भने अवैध हुन् ।
भारतले चालु आर्थिक वर्षको बजेटमा नै समावेश गरेर आफ्नै डिजिल करेन्सी ल्याउने घोषणा गरिसकेको छ । छिमेकी मुलुकलेसमेत आफ्नै डिजिटल करेन्सी ल्याउने घोषणा गरेपछि नेपालमा पनि यसबारे अध्ययन सुरु भएको हो ।
राष्ट्र बैंकको मुद्रा व्यवस्थापन विभागका निर्देशकको संयोजकत्वमा समिति गठन गरी अध्ययनको जिम्मा दिइएको छ ।