४ जना पक्राउ
काठमाडौंमा केही अस्पतालले चर्को शुल्क लिएर ग्राहकलाई कोरोना संक्रमण नभएको नक्कली रिपोर्ट दिने गरेको पाइएको छ ।
अस्पताल र प्रयोगशालाहरुले विचौलियासँग मिलेर नक्कली पीसीआर रिपोर्ट बनाइदिने र त्यसबापत चर्को शुल्क लिने गरेको पाइएको नेपाल प्रहरीको अपराध अनुसन्धान महाशाखाले जनाएको छ ।
भक्तपुरको मध्युपर थिमीस्थित नागरिक कम्युनिटी टिचिङ अस्पताल र काठमाडौंको तीनकुनेस्थित कान्तिपुर अस्पतालबाट नक्कली पीसीआर रिपोर्ट बनाएको अभियोगमा त्यहाँका कर्मचारी र केही विचौलिया पक्राउ परेका अपराध अनुसन्धान महाशाखाका सूचना अधिकृत प्रहरी उपरिक्षक कृष्णप्रसाद कोइरालाले जानकारी दिए ।
विचौलिया र ल्याबका कर्मचारी एवं व्यवस्थापनको मिलेमतोमा विदेश जाने व्यक्तिहरुलाई पीसीआर रिपोर्ट नेगेटिभ बनाइदिने भनी एक जनाबाट १० हजार रुपैयाँसम्म असुल गरेको पाइएको पनि अपराध अनुसन्धान महाशाखाले बताएको छ ।
प्रहरीले उनीहरूको साथबाट पीसीआर रिपोर्ट नेगेटिभ बनाउने कम्प्युटर मनिटर, ल्यापटप, सीपीयु, नक्कली पीसीआर रिपोर्ट र मोबाइलगायत सामग्रीसमेत बरामद गरेको छ ।