कांग्रेसले रूख छापमै मतदान गर्न पाउनुपर्छ: शेखर कोइराला
नेपाली कांग्रेसका नेता शेखर कोइरालाले अन्य दलसँग चुनावी गठबन्धन गर्न नहुने कुरा दोहोर्याएका छन्।
शुक्रबार बसेको कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठकमा बोल्दै कोइरालाले स्थानीय चुनावमा कांग्रेस एक्लै लडे पनि ठूलो दल बन्ने दाबी गरेका हुन्।
‘हामीले गाउँदेखि सहरसम्म सबै स्थानीय निकायमा लोकप्रिय, क्षमतावान्, इमान्दार र पार्टीमा योगदान पुर्याएका साथीहरूलाई बिनाभेदभाव, न्यायोचित र पूर्वाग्रहरहित तरिकाले उम्मेदवार चयन गरौं। यसो गर्न सकेमात्र हाम्रो जीत सुनिश्चित हुनेछ। र, मैले विगतदेखि नै कांग्रेसले कांग्रेसलाई अर्थात् रुख छापमै मतदान गर्न पाउनु पर्छ भन्दै आएको तथ्यलाई यहाँ स्मरण गराउन चाहन्छु,’ कोइरालाले भने, ‘यसको अभिप्राय भनेको हाम्रो राजनीतिक आदर्शविपरीत अप्राकृतिक गठबन्धन गर्नुको साटो पार्टीभित्र सुदृढ एकता कायम गर्दै, कार्यकर्ता साथीहरूको न्यायोचित व्यबस्थापन गरेर जाँदा कांग्रेस एक्लैले स्थानीय तहमा अत्यधिक सिट जित्न सक्छ। यही जितको बलले प्रदेश र संघीय निर्वाचनमा समेत कांग्रेसले एक्लै बहुमत प्राप्त गर्न सक्छ भन्ने मेरो मान्यता छ।’ कोइरालाले यो कुरा आफ्नो व्यक्तिगत धारणाका रूपमा भन्दा पनि तल्लो तहमा बसेर काम गरेका साथीहरूसँगको अन्तरक्रियाबाट प्राप्त सुझाव र उनीहरूको भावना भएको बताए।
अमेरिकी सहयोग एमसीसी परियोजना अब सहयोग र अनुदानमा मात्रै सीमित नभएर धेरै माथि उठिसकेकाले यसप्रति निकै गम्भीर बन्नु पर्ने उनले बताए।