हामी एमसिसी पास गर्ने लाइनमा छौं, गठबन्धनमा कुनै समस्या छैन: सञ्चारमन्त्री कार्की
पाँचदलीय सत्ता गठबन्धनबीच संसदको अर्को बैठकमा एमसिसी टेबल गर्न सहमति भएको छ।
मिलेनियम च्यालेन्स कम्प्याक्ट (एमसिसी) भनिने अमेरिकी सहयोग परियोजना संसदबाट पारित गर्ने कि नगर्ने भन्ने विषयमा लामो समयदेखि प्रमुख राजनीतिक दलहरूबीच सहमति हुन सकेको थिएन।
यसबारे छलफल गर्न गठित तीन सदस्यीय कार्यदलले शनिबार गठबन्धन दलका शीर्षनेताहरूलाई ब्रिफिङ गरेको थियो। उक्त ब्रिफिङपछि नै एमसिसी टेबल गर्नेबारे सहमति भएको सूचना तथा सञ्चारमन्त्री र कार्यदलका सदस्य ज्ञानेन्द्रबहादुर कार्कीले बताए।
एमसिसीबारे कार्यदलको छलफल सकारात्मक कोणमा अघि बढेको र त्यसैअनुसार गठबन्धन दलका शीर्ष नेताहरूलाई ब्रिफिङ गरेको उनले जानकारी दिए।
'ब्रिफिङ गरिसकेपछि एक हिसाबले भन्दा हामी तीन जनाको कार्यदलले आफ्नो काम पूरा गरिसकेको छ। शीर्ष नेताहरूले हाम्रो ब्रिफिङलाई सकारात्मक रूपमा ग्रहण गर्नुभएको छ,' उनले भने।
कार्यदलमा मन्त्री कार्कीसहित नेकपा एकीकृत समाजवादीका झलनाथ खनाल र माओवादी केन्द्रका नारायणकाजी श्रेष्ठ सदस्य थिए।
एमसिसीलाई लिएर गठबन्धन तोड्ने वा टुटाउनेबारे आएका समाचारमा कुनै सत्यता नभएको पनि सञ्चारमन्त्री कार्कीले दाबी गरे। कार्कीले मुलुकको पूर्वाधार निर्माणका लागि अमेरिकाले दिएको यो अनुदान सहायता राष्ट्रिय हितमा रहेको र अमेरिकी सैन्य रणनीतिको अंग हुनै नसक्ने बताए। उनले ५० वटा देशले एमसिसीबाट लाभ लिइरहेेको र मंगोलिया, इन्डोनेसियाजस्ता देश त दोस्रो चरणको सम्झौतामा अगाडि बढिसकेको बताए।
यसबीच माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले एमसिसी सम्झौता संसदबाट पारित नभए सत्तारूढ गठबन्धन तोडिन्छ भन्ने अभिव्यक्ति प्रधानमन्त्री शेरबहादुर देउवाले नदिएको दाबी गरेका छन्।