काठमाडौं उपत्यकामा शुक्रबार रातिदेखि जोरबिजोर प्रणाली
जिल्ला प्रशासन कार्यालय काठमाडौंले भीडभाडजन्य गतिविधिहरूलाई निरूत्साहित गर्नका लागि सवारी साधनमा जोरबिजोर प्रणाली लागु गरिएको बताएको छ।
काठमाडौं उपत्यकाका तीन जिल्लाहरू काठमाडौं, भक्तपुर र ललितपुरका जिल्ला प्रशासन कार्यालयले शुक्रबार रातिदेखि उपत्यकामा चल्ने सवारी साधनहरूमा जोरबिजोर प्रणाली लागु गरेका छन्।
न्युज एजेन्सी नेपालसँग कुराकानी गर्दै जिल्ला प्रशासन कार्यालय काठमाडौंका सहायक प्रमुख जिल्ला अधिकारी उमाकान्त अधिकारीले भीडभाडजन्य क्रियाकलाप र गतिविधिहरूलाई रोक्न सवारी साधनमा जोरबिजोर प्रणाली लागु गर्नुपरेको बताए।
सवारी साधनको जोरबिजोर प्रणालीले आवश्यकताभन्दा बाहेकका गतिविधिलाई निरूत्साहित गर्ने ठहरका साथ प्रशासनले यस्तो निर्णय गरेको उनले बताए।
सवारी साधनमा जोरबिजोर प्रणाली लागु भए पनि उपचारलगायत अत्यावश्यक सेवा प्रवाहका लागि भने समस्यामा नपार्ने उनले स्पष्ट पारे।
यसको निम्ति प्रशासन छलफलमा रहेको उनले जानकारी दिए। सवारी साधनको चापका कारण भीडभाड न्यूनीकरण नभएको र संक्रमण बढिरहेको सहायक प्रजिअ अधिकारीले बताए।
सवारी साधन कम चल्दा भीडभाडजन्य गतिविधि कम हुने उनले उल्लेख गरे। प्रशासनले दिएको आदेशलाई प्रभावकारी कार्यान्वयनका निम्ति निरन्तर अनुगमन गरिरहेको सहायक प्रजिअ अधिकारीको भनाइ छ।
आदेशको पालना गर्ने पहिलो जिम्मेवारी र भूमिका नागरिककै हुने भएकाले आदेश पालना गर्न पनि उनले आग्रह गरे।