कोरोनाका कारण दाङको माघी मेला स्थगित
कोरोना भाइरसको तेस्रो लहर फैलिहेका कारण यस वर्ष दाङका जिल्लाका धार्मिकस्थलमा लाग्ने माघी मेलाहरु नहुने भएका छन् । माघे सङ्क्रान्तिका अवसरमा जिल्लाका दुई स्थानमा ठूलो मेला लाग्ने गर्दथ्यो ।
घोराही उपमहानगरपालिका–१३ को बाह्रकुने ताल (दह) र लमही नगरपालिका-९ स्थित बगार बाबा धार्मिकस्थल रिहारमा मेला लाग्ने गर्दथ्यो । यो वर्ष यी दुवै स्थानमा लागि मेला नलाग्ने भएको हो।
बाह्रकुने दह संरक्षण समितिका अध्यक्ष टेमन बुढाले नेपाल सरकारको निर्देशनअनुसार मेला भर्न स्थगित गरिए पनि भौतिक दूरी र सुरक्षाको मापदण्ड पालना गरी पूजा गर्न पाइने बताए। आजभोलि मन्दिरमा दैनिक पूजा भइरहेको छ।
मन्दिरमा पूजाका लागि प्यूठान, रोल्पा, रुकुमबाट दैनिक करिब दुईदेखि तीन सय भक्तजन आउने गरेको उनले बताए । यो मन्दिरमा भेडाको बलि दिइने र परेवा उडाइने गरिन्छ । अवलोकन गर्न आउने पर्यटकलाई मन्दिर परिसर सधैँ खुल्ला हुने अध्यक्ष बुढाले जानकारी दिए ।
दाङका धार्मिकस्थलहरुमा अघिल्ला वर्षहरुमा माघीमा मेला एक महिनाअघि देखि नै लाग्दै आएकामा यस वर्ष नलाग्ने प्रमुख जिल्ला अधिकारी हिरालाल रेग्मीले जानकारी दिए ।
कोरोना भाइरस सङ्क्रमणको जोखिम जिल्लामा दिन प्रतिदिन बढ्दै गएको छ । नागरिकको स्वास्थ्यलाई ख्याल गरी जिल्लामा पनि सजकता अपनाउन जरुरी रहेको भन्दै उनले मेला महोत्सवका कार्यक्रम नहुने बताए। भीडभाड हुने कार्यक्रम गर्ने समय छैन, त्यसैले सामाजिक दूरी कायम नहुने भएकाले माघीको मेला नलाग्ने जानकारी दिए ।
जिल्लाका स्थानीय तहहरुले पनि कुनै पनि भेला, महोत्सव र मेला नगर्न र कोरोनाविरुद्धमा सतर्कता अपनाउन सूचना प्रकाशन गरेर आग्रह गरेका छन् । जिल्ला थारू कल्याणकारिणी सभाले पनि माघी महोत्सव स्थगन गरेको छ ।