५ महिनामा एक खर्ब नाघ्यो निर्यात नाघ्यो
नेपालमा गत आर्थिक वर्ष २०७७/७८ मा पहिलो पटक एक खर्बमाथिको निर्यात व्यापार भएको थियो । तर, त्यसका लागि १०औं महिनासम्मको व्यापार कुर्नु परेको थियो ।
चालु आर्थिक वर्ष २०७८/७९ मा भने पहिलो ५ महिनामै निर्यात व्यापारले एक खर्बको आंकडा पार गर्दै कीर्तिमान राखेको छ ।
भन्सार विभागले सार्वजनिक गरेको तथ्यांक अनुसार चालु आवको पहिलो पाँच महिना (साउन–मंसिर)सम्म कुल १ खर्ब २ अर्ब ९२ करोड रुपैयाँ बराबरको सामान नेपालबाट विदेशमा निर्यात भएको छ । यो गत आर्थिक वर्षको यसै अवधिको तुलनामा १०५.६१ प्रतिशत बढी हो ।
यसअघि गत आवको निर्यात यो अवधिमा मात्र ५० अर्ब ५ करोड रुपैयाँ बराबरको भएको थियो । गत आर्थिक वर्ष २०७७/७८ भर कुल १ खर्ब ४१ अर्ब रुपैयाँको निर्यात व्यापार भएको थियो । यो व्यापार नै नेपालको इतिहासमा सबैभन्दा ठूलो निर्यातको आंकडा थियो । चालु आवमा भने निर्यातले यसअघिका वर्षहरुका सबै रेकर्ड तोड्ने देखिएको छ ।